काठमाण्डाै । अशोक धामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल मलेसियामा जारी एसीसी मेन्स इस्ट जोन यू-१६ प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गरेको हो ।
नेपालले जितको लागि दिएको १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रनमै अल आउट भयो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाएका थिए ।
कप्तान मोहम्मद आलिफले ५२ बलमा २ चौकासहित १५ रन तथा मुहम्मद अक्रमले १२ रन बनाएका थिए । मलेसियाका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । समूह ‘ए’ मा थाइल्यान्ड लगातार दुई खेलमा पराजित भएपछि नेपाल र मलेसिया अन्तिम खेल अघिनै सेमिफाइनलमा पुगेका थिए ।
नेपालका लागि स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । कप्तान अभिषेक तिवारीले ४.५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट तथा कृतिक कामतले एक विकेट लिएका थिए ।
त्यअसघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालको जितमा अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
अलराउन्ड उत्कृष्ट प्रदर्शन गर्दै बलिङमा पनि चार विकेट लिएका अशोक धामीनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए । एक समय ९१-७ को अवस्थामा पुगेको नेपाललाई खेलमा फर्काउन अशोक धामी र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भएका थिए । सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भएका थिए । नेपालका दीपु कुमार १५ रनमा, निरज कुमार यादव ८ रनमा, प्रतिक भट्टराई ४ रनमा, विकेटकिपर आषिश लुहार गोल्डेन डक र सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए ।
मलेसियाका लागि हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान २/२ विकेट तथा मोहम्मद फतुलले १ विकेट लिएका थिए । समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई १ सय १८ रनले पराजित गर्दै अन्तिम खेल अघिनै सेमिफाइनलमा पुगेको थियो ।
समूह ‘ए’ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । नेपालले अव सेमिफाइनल खेलमा समूह ‘बी’ को उप विजेता सिंगापुरसँग खेल्नेछ । मलेसियाले समूह ‘बी’ को विजेता हङकङसँग खेल्नेछ । सेमिफाइनलकाे दुवै खेल भोलि शनिवार हुनेछन् ।
नेपालको यू-१६ टोली :
अभिषेक तिवारी (कप्तान), आषिश लुइटेल (विकेटकिपर), दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, सुर्यांशु कोइराला, सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।