काठमाण्डाै । मलेसियामा जारी एसीसी मेन्स यू-१६ ईस्ट रिजनको समूह चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन् । मलेसियाको राजधानी क्वालालम्पुरको बायुमास ओभलमा खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ ।
समूह ‘ए’ को पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्नेछ । मलेसिया पनि पहिलो खेलमा थाइल्यान्डलाई १ सय १८ रनले पराजित गरी सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’ मा नेपाल, थाइल्यान्ड र मलेसिया तथा समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । समूह ‘बी’ बाट सिंगापुर र हङकङबीच आज हुने खेलमा समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइनलकाे दुवै खेल भोलि शनिवार हुनेछन् ।
नेपालको यू-१६ टोली :
अभिषेक तिवारी (कप्तान), आषिश लुइटेल (विकेटकिपर), दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, सुर्यांशु कोइराला, सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।