काठमाडौं । एकदिवसीय विश्वकपअन्तर्गत ग्लोबल छनोटबाट बाहिरिएको नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा यथावत् स्थानमा छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औँ स्थानमा रहेको छ ।
ग्लोबल छनोटको सुपर सिक्समा स्थान बनाउन चुकेको नेपालले अमेरिकालाई मात्र हराएको थियो । ग्लोबल छनोटको समूह ‘ए’मा नेपाल जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो । नेपालले आइतबार सातौँ र आठौँ स्थानको प्लेअफ खेलका लागि युएईसँग खेल्ने तालिका छ ।
आइसिसीको वरीयतामा नेपालले ३८ खेलमा ३५ रेटिङ अंक पाएको छ । नेपालअघि १३ औँ स्थानमा आयरल्यान्ड, १२ औँ स्थानमा स्कटल्यान्ड र जिम्बावे ११ औँ स्थानमा छन् । सुपर सिक्समा स्थान बनाएको नेदरल्यान्ड्स १५ औँ स्थानमा छ ।
अमेरिका १६ औँ र नामिबिया १७ औँ स्थानमा छन् । सुपर सिक्समा स्थान पक्का गरेको ओमान एकदिवसीय वरीयताका १८ औँ स्थानमा छ । युएई १९ औँ र पपुवा न्युगिनी २० औँ स्थानमा छन् ।
नयाँ वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा छ । पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौँ र दक्षिण अफ्रिका छैटौँ स्थानमा छन् । बंगलादेश सातौँ, श्रीलंका आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इन्डिज १०औँ स्थानमा रहेको आइसिसीले जनाएको छ ।
आसिफ शेख र सोमपाल कामीको वरीयतामा सुधार
आइसिसीको ब्याटिङ वरीयतामा ओपनर आसिफ शेख र तीव्र गतिका बलर सोमपाल कामीले वरीयतामा एक स्थान सुधार गरेका छन् । आसिफ एक स्थान माथि उक्लँदै ७२ औँ स्थानमा रहे । बलिङतर्फ सोमपालले पनि एक स्थान सुधार गर्दै ७४ औँ स्थान प्राप्त गरेका छन् ।
ब्याटिङमा कप्तान रोहित पौडेल ७० औँ स्थानमा यथावत् छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ५९ औँ, लेग स्पिनर सन्दीप लामिछाने २९ औँ, करण केसी ९२ औँ र स्पिनर ललितनारायण राजवंशी ९६ औँ स्थानमा रहेका छन् ।