काठमाडौैं । एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप २०२३ को पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि २ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रनको विशाल योगफल खडा गरेको हो ।
नेपालका लागि ओपनर निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भएका थिए । यादव स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । यादवले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।
नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले पहिलो विकेटका लागि १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । सुर्यांशु कोइराला ५५ बलमा ३ चौकासहित ४० रनमा स्पिनर जित सादाको बलमा बोल्ड आउट भएका थिए ।
नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहेका थिए । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भएका थिए । कप्तान अभिषेक तिवारी १४ रनमा, आषिश लुहार १३ रनमा र अशोेक धामी ५ रनमा आउट भएका थिए ।
थाईल्यान्डका लागि निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिएका थिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । स्पिनर जित सादा र पियावत नोद्रीले समान १/१ विकेट लिएका थिए ।
समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेएसिया छन् । समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।
थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल खेल ३ जुलाई र फाइनल खेल ४ जुलाईमा हुनेछ ।
नेपालको यू-१६ टोली :
अभिषेक तिवारी (कप्तान), आषिश लुइटेल (विकेटकिपर), दीप भुजेल, कार्तिक कामत, प्रतिक पोखरेल, निरज यादव, सुर्यांशु कोइराला, सन्तोष यादव, अशोक धामी, सचिन मल्ल र नरेन भट्ट ।