काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटमा नेपालसहित प्लेअफ खेल्ने चार टोलीको टुंगो लागेको छ । समूह ‘ए’ बाट नेपाल र अमेरिका तथा समूह ‘बी’ बाट टेस्ट टोली आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् ।
विश्वकप छनोटमा समूह चरणबाटै बाहिरिने चार टोलीबीच ३० जुन देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट प्लेअफमा ७ औं देखी १० औं स्थान निर्धारण हुनेछ । प्लेअफमा समूह ‘ए’ को चौथो स्थानमा रहने टोलीले समूह ‘बी’ को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ को पुछारमा रहने टोलीले समूह ‘बी’ को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेलको विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल समूह ‘ए’ को ४ खेलमा ३ मा हार र १ मा जितका साथ २ अंक जोडेर चौथो स्थानमा रहेको छ भने अमेरिका सुरुवाती तीन खेलमा हारका साथ पुछारमा रहेको छ । समूह ‘ए’ को अन्तिम खेलमा आज सोमबार अमेरिका जिम्बावेसँग विजयी भएमा नेटरनरेट निर्भर पर्नेछ ।
उता समूह ‘बी’ मा टेस्ट टोली आयरल्यान्ड पनि सुरुवाती तीनै खेलमा हारका साथ बाहिरिन पुग्यो । युएई पनि लगातार तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थियो । मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेलको विजेता टोली चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्नेछन् ।
समूह ‘ए’ बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्ट इन्डिज सुपर सिक्समा पुगेका छन् भने समूह ‘बी’ बाट श्रीलंका, ओमान र स्कटल्यान्ड सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सबाट शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
दश राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।