काठमाडौं । ब्याटिङ नचल्दा नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको छ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भयो ।
सुपर सिक्स पुग्न जित्नैपर्ने समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।
नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन । सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए । भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिएका थिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिएका थिए ।
नेपाल आज विजयी भएमा पनि शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ । उता, नेदरल्यान्ड्स पनि आज नेपाललाई हराउँदै समूह ‘ए’ बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ ।
नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो भने बिहीबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको थियो । यता, नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने अमेरिकामाथि ५ विकेटको जित निकालेको थियो ।
नेपाल र नेदरल्याण्ड्स यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् । नेपाल दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
समूह ‘ए’ बाट लगातार तीन हारको साथ अमेरिका भने बाहिरिएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । दश राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।