काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा आज शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार मध्यान्ह पौने एक बजे सुरु हुनेछ ।
नेपाललाई समूह ‘ए’ बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल आज पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने छ । नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो ।
नेपालले मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो भने बिहीबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको थियो । यता, नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने अमेरिकामाथि ५ विकेटको जित निकालेको थियो ।
नेपाल र नेदरल्याण्ड्स यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक/एक जीत हासिल गरेका छन् । नेपाल दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो ।
नेपाल आज विजयी भएमा पनि शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्न अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग हार्नुपर्ने हुन्छ । उता, नेदरल्यान्ड्स पनि आज नेपाललाई हराउँदै समूह ‘ए’ बाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान पक्का गर्न चाहन्छ ।
नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गर्ने सम्भावना छैन । नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट ठूलो अपेक्षा गर्नेछ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध यी दुई जोडीले १ सय ७१ रनको साझेदारी गरेका थिए । नेपाल आज त्यस्तै सुरुवात नेदरल्यान्ड्सविरुद्ध चाहन्छ ।
अमेरिकाविरुद्ध ७७ रनको इनिङ खेलेका भीम सार्कीको भूमिका आज विकेट बचाएर खेल्ने हुनेछ । मध्यक्रमका प्रमुख ब्याटर रोहित पौडेल र आक्रामक ब्याटर कुशल मल्लले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ भने आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले तल्लोक्रम सम्हाल्नेछन् ।
अमेरिकाविरुद्ध सानदार प्रदर्शन गर्दै ४ विकेट लिएका करण केसीबाट आज नेपाल नेदरल्यान्ड्सविरुद्ध त्यस्तै सुरुवात चाहन्छ । करणलाई गुलशन झा र आरिफ शेखले साथ दिनेछन् । नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेबाट आशा उच्च छ भने अर्का स्पिनर ललितनारायण राजवंशीले राम्रो प्रदर्शन गर्दै आएका छन् ।
यता नेदरल्यान्ड्सका अलराउन्डर प्रमुख ब्याटर बास डि लिडे तथा भारतीय मुलका विक्रमजित सिंह र तेजा निडामानिरु राम्रो ब्याटरको रुपमा छन् । यी ब्याटरहरुले नेपाललाई निराश बनाउन सक्छन् । जिम्बावेविरुद्ध शानदार प्रदर्शन गरेको नेदरल्यान्ड्सले ३ सय १५ रन बनाएको थियो ।
आक्रामक ब्याटर म्याक्स ओडाउड तथा अभ्यास खेलमा नेपालविरुद्ध अर्धशतक प्रहार गरेका वेस्ली ब्यारी र कप्तान स्कट एड्वार्ड्सको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ । अभ्यास खेलमा नेपालविरुद्ध पाँच विकेट लिएका लोगन भान बिक नेदरल्यान्ड्सका प्रमुख तीव्र गतिका बलर हुन् । उनलाई बास डि लिडे तथा रायन केलिन र स्पिनर शरिज अहमदले साथ दिनेछन् ।
समूह ‘ए’ बाट लगातार तीन हारको साथ अमेरिका भने बाहिरिएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । दश राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
नेदरल्यान्ड्सको टोली :
स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।