काठमाडौं । नेपालले जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा आज बिहीबार चार पटकको विश्वविजेता वेस्ट इन्डिजसँग खेल्दैछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल हरारे स्पोर्टस् क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार मध्यान्ह पौने एक बजे सुरु हुनेछ ।
तेस्रो खेल खेल्दै गरेको नेपाल आज वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो ।
मंगलबार भएको दोस्रो खेलमा अमेरिकाले जितको लागि दिएको २ सय ८ रनको विजयी लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपाल आज चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गरि सुपर सिक्सको सम्भावना बलियो बनाउन चाहन्छ ।
वेस्ट इन्डिजले सन् १९७९ र १९९५ को एकदिवसीय विश्वकप उपाधि जितेको थियो भने सन् २०१२ र २०१६ को टि-२० विश्वकप उपाधि जितेको थियो । नेपालको वेस्ट इन्डिजसँग कुनैपनि खेलमा यो नै पहिलो भेट हो । विश्व स्तरिय टि-२० ब्याटरको बाहुल्यता रहेको वेस्ट इन्डिज आज नेपालमाथि रनको वर्षा गराउन चाहन्छ ।
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई वेस्ट इन्डिजका पूर्व ब्याटिङ प्रशिक्षक हुन् । मोन्टी देशाईलाई वेस्ट इन्डिजका कमजोरीहरु राम्रोसँग थाहाछ त्यसैले आज प्रशिक्षक मोन्टी निर्णायक बन्न सक्छन् । मोन्टीले सन् २०१९ देखी २०२३ सम्म वेस्ट इन्डिजको टोलीमा रहेर काम गरेका थिए ।
नेपालका रोहितकुमार पौडेल र वेस्ट इन्डिजका शाई होपले कप्तानी गर्नेछन् । वेस्ट इन्डिजका भरपर्दा ब्याटर शाई होपले १ सय ९ ओडिआईमा १४ शतक र २२ अर्धशतकका साथ ४५ सय ४२ रन बनाएका छन् । शाई होप विश्वकप छनोट खेल्ने ब्याटरमा सबैभन्दा बढी ओडिआई शतक हान्ने खेलाडी हुन् ।
शाई होप आज क्रिजमा धेरै समय टिकेको खण्डमा नेपालको जितको सम्भावना सकिनेछ । ओपनर कायल मेयर्स पनि विष्फोटक ब्याटिङका लागि चर्चित छन् । वेस्ट इन्डिजका ब्रेन्डन किंग, जोनसन चाल्र्स, निकोलस पुरन र रोभम्यान पावेल मध्य एक खेलाडी पनि आज क्रिजमा धेरै समय टिकेको खण्डमा नेपालको जित कठिन बन्ने पक्का छ ।
यता नेपाली टोलीले ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट आज उत्कृष्ट सुरुवात चाहन्छ । जिम्बावेविरुद्ध यी दुई ब्याटरले १ सय ७१ रनको साझेदारी गरेका थिए । राम्रो लयमा रहेका भुर्तेलले जिम्बावेविरुद्ध ९९ रनको इनिङ खेलेका थिए भने अमेरिकाविरुद्ध ३९ रनमा आउट हुन पुगेका थिए ।
अमेरिकाविरुद्ध ७७ रनको इनिङ खेलेका भीम सार्कीको भूमिका आज विकेट बचाएर खेल्ने हुनेछ । मध्यक्रमका प्रमुख ब्याटर रोहित पौडेल र कुशल मल्लले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ भने आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले तल्लोक्रम सम्हाल्नेछन् ।
अमेरिकाविरुद्ध सानदार प्रदर्शन गर्दै ४ विकेटक साथ प्लेयर अफ द म्याच चुनिएका करण केसीबाट आज नेपाल वेस्ट इन्डिजविरुद्ध त्यस्तै सुरुवात चाहन्छ । करणलाई गुलशन झा र आरिफ शेखले साथ दिनेछन् । नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेबाट आशा उच्च छ । सन्दीप पछिल्ला दुई खेलमा विकेट विहीन छन् ।
जिम्बावेसँगको खेलमा घाइते भएका सोमपाल कामी आज पनि नखेल्ने पक्का छ । स्पिनरमा ललित नारायण राजवंशी हुनेछन् भने पार्ट टाइम स्पिनरमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी हुनेछन् । आज नेपाल जित र हार भन्दा पनि आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउन चाहन्छ ।
नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
वेस्ट इन्डिजको टोली :
शाई होप (कप्तान), रोभम्यान पावेल (उपकप्तान), शमाह्र ब्रुक्स, यानिक कारियाह, केसी कार्टी, रोस्टन चेश, जोनसन चाल्र्स, जेसन होल्डर, अकिल हुसैन, अल्जारी जोशेफ, ब्रेन्डन किंग, कायल मेयर्स, किमो पल, निकोलस पुरन र रोमारियो शेफर्ड ।