काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध सातौं सफलता मिलेको छ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदान हरारेमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध नेपालका लागि गुलशन झाले सातौं विकेट लिएका हुन् ।
नेपालका गुलशनले निशर्ग पटेललाई बोल्ड आउट गराएका हुन् । अमेरिकाविरुद्धको जारी खेलमा नेपालले ३७ ओभरको समाप्तीमा १ सय २९ रन खर्चिएर ७ विकेट लिएको छ । अमेरिकाका लागि अहिले क्रिजमा शहान जाहान्गिर ४० रनमा तथा र जसदिप सिंह १ रनमा क्रिजमा रहेका छन् ।
स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरेका थिए । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
गजानन्द स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए ।
तीव्र गतिका बलर करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । गतवर्ष स्टिभ टेलरले नेपालविरुद्ध आफ्नो घरेलु मैदानमा १ सय १४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
त्यसको लगत्तै करणले अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्लालाई शून्यमा आउट गरे । साइतेजा आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । करणले आठौं ओभरको पाँचौं बलमा अमेरिका कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए ।
करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको हो । करण केसीले ७ ओभरमा ३ मेडनसहित ११ रन खर्चेर ४ विकेट लिएका छन् ।