काठमाडौं । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार व्यहोरेको छ । हरारे स्पोर्ट्स क्लब क्रिकेट मैदानमा आईतबार भएको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको हो ।
नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीका बाबजुद जिम्बाब्वेले कप्तान क्रेग इर्भिन र सेन विलियम्सको शतकमा नेपालविरुद्ध सहज जित निकालेको थियो । पोस्ट म्याच प्रेस कन्फ्रेन्सका क्रममा नेपालका कप्तान रोहितकुमार पौडेलले मध्यम क्रमको बलिङ राम्रो हुन नसकेको बताए ।
"हामीले आज राम्रो बलिङ गर्न सकेनौँ । विशेष गरी मध्यम क्रमको बलिङ राम्रो हुन सकेन । आज जिम्बाब्वेबाट राम्रो ब्याटिङ भयो । हामीले प्रस्तुत गरेको लक्ष्य राम्रै थियो," कप्तान रोहितले भने । उनले समग्रमा आजको खेलमा खेलाडीहरूले राम्रै खेलेको र अब अर्को खेलको तयारीमा लाग्ने बताएका थिए ।
नेपालले दिएको २ सय ९१ रनको बलियो विजयी लक्ष्य जिम्बावेले ४४ दशमलब १ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेको जितमा १२५ बलमा १६४ रनको साझेदारी गरेका कप्तान क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेलेका थिए ।
कप्तान इर्भिनले १२८ बलमा १५ चौका र १ छक्का मद्दतमा १२१ रन बनाए । विलियम्सले ७० बलमा १३ चौका र २ छक्का मद्दतमा अविजित १०२ रन बनाएका थिए । यस्तै, ओपनर जोयलर्ड गुम्बिले २९ बलमा ५ चौकाको सहयोगमा २५ रन र वेस्ली मधेभरेले ३८ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाएका थिए ।
दोस्रो विकेटका लागि वेस्ली मधेभरे र कप्तान क्रेग इर्भिनले ९२ बलमा ८२ रनको साझेदारी गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ७७ रन खर्चेर कुनै विकेट लिन सकेनन् । गुलशन झा र सोमपाल कामीले समान एक/एक विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपाललाई पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी शतकीय साझेदारी गर्दै उत्कृष्ट पारी खेले पनि टोलीको जित दिलाउन सकेनन् ।
एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । कुशलले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको योगदान गरे । कुशलले ६३ बलमा ८ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट कुशलको यो छैटौं अर्धशतक हो । कुशलको नाममा एक शतक समेत रहेको छ । यस्तै, अर्का ओपनर आसिफ शेख ६६ रनमा आउट भएका थिए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका थिए ।
यस्तै, कुशल मल्ल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा तथा कप्तान रोहितकुमार पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए । गुल्सन झा १३ रनमा, आरिफ शेख १० रनमा र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भएका थिए ।
करण केसी २ रनमा नट आउट रहे । जिम्बावेका लागि रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिएका थिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान १/१ विकेट लिएका थिए ।
जितसँगै आयोजक जिम्बावे २ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । अब, नेपालको दोस्रो खेल असार ५ (जुन २०) मा अमेरिकासँग रहेको छ । नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (जुन २२) मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।
जिम्बावेसँगको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल हो । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।