काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले घरेलु टोली जिम्बावेलाई २९१ रनको विजयी लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २९० रन जोडेको हो ।
नेपाललाई पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट पारी खेले । एक रनले शतक बनाउन चुकेका कुशल भुर्तेलले एक रनमै जीवनदान पाएका थिए । कुशलले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको योगदान गरे । कुशलले ६३ बलमा ८ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
ओडिआई क्रिकेटमा नेपालको तर्फबाट कुशलको यो छैटौं अर्धशतक हो । कुशलको नाममा एक शतक समेत रहेको छ । यस्तै, अर्का ओपनर आसिफ शेख ६६ रनमा आउट भएका थिए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका थिए ।
यस्तै, कुशल मल्ल ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा तथा कप्तान रोहितकुमार पौडेल २९ बलमा ५ चौकासहित ३१ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ७२ रनको साझेदारी गरेका थिए । गुल्सन झा १३ रनमा, आरिफ शेख १० रनमा र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।
करण केसी २ रनमा नट आउट रहे । जिम्बावेका लागि रिचर्ड न्गारावाले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ४ विकेट लिएका थिए । वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान समान १/१ विकेट लिएका थिए ।
जिम्बावेसँगको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल हो । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।