काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट प्रतियोगिता आज आईतबारबाट जिम्बाब्वेमा सुरु हुँदैछ । नेपालले आज नै घरेलु टोली जिम्बाब्वेसँग खेल्दै आफ्नो यात्रा सुरु गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार मध्यान्ह पौने एक बजे सुरु हुनेछ ।
टेस्ट मान्यता प्राप्त राष्ट्रसँग नेपालले ओडीआई खेल्न लागेको यो पहिलो पटक हो । नेपालले अहिलेसम्म खेलेका ५१ ओडीआई सबै एसोसिएट राष्ट्रविरुद्ध हुन् । नेपाल विश्व क्रिकेट लिग टूको शीर्ष तीनमा रहँदै सिधै ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको थियो । जिम्बाब्वे सुपर लिगबाट झरेको हो ।
नेपालले दक्षिण अफ्रिकामा छनोट प्रतियोगिताको तयारी स्वरुप नेदरल्यान्ड्स र स्कटल्यान्डसँग दुई अभ्यास खेल खेलेको थियो । खराब ब्याटिङ गरेको नेपाल दुवैमा खेलमा पराजित भयो । पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो भने दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सले ५ विकेटले हराएको थियो ।
त्यसपछि, जिम्बाब्वेमा नेपालले पहिलो वार्मअप खेलमा यूएईसँग ३ विकेटले हारेको थियो । प्रतियोगितापूर्वको अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने भीम सार्कीले अर्धशतकीय ईनिङ खेलेका थिए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले यो प्रतियोगिताका लागि टिमले लामो समयदेखि मेहनत गरेको बताएका छन् । जिम्बाब्वेका कप्तान क्रेग अर्भिनले ग्लोबल छनोटका लागि टिमको तयारी उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । जिम्बावेबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका सिकन्दर राजा, चतरा टेन्डाई र ब्लेसिङ मुर्जाबानी टोलीका प्रमुख बलर हुन् भने उच्च लयमा रहेका सिकन्दर राजा तथा रयान बर्ल टोलीका प्रमुख अलराउन्डर हुन् ।
नेपाल र जिम्बाब्वे ५० ओभरको खेलमा यसअघि २०१८ मा आमने सामने भएका थिए । जसमा जिम्बाब्वे १ सय १६ रनले विजयी भएको थियो । ३ सय ८१ रनको लक्ष्य पछ्याएको नेपालका लागि आरिफ शेखले ५०, रोहितले ३० र ज्ञानेन्द्र मल्लले ३२ रन बनाएका थिए । यी तीनै खेलाडी अहिले टिममा समावेश छन् ।
आजनै हुने समूह ‘ए’ को अर्को खेलमा वेस्टइन्डिज र अमेरिका जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार मध्यान्ह पौने एक बजे आमने सामने हुनेछन् । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो । आज प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा नेपाल रहेको छ । उता, घरेलु मैदानमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।
जिम्बावेको टोली :
रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।