काठमाडौं । हङकङमा जारी एसीसी महिला टि-२० इमर्जिङ टिम्स एशिया कपको अन्तिम खेल वर्षाले रद्ध भएसँगै नेपाल समुह चरणबाटै बाहिरिएको छ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण टस समेत हुन नसकि रद्द भएसँगै नेपाल र हङकङले १/१ अंक बाँडेका थिए ।
नेपाल आज समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरि सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्थो । आज अंक बाँडेसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त भएको थियो । नेपाल ३ खेलमा २ अंकका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।
नेपालले मंगलवार भएको पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग झिनो अन्तरको हार व्यहोरेको थियो । नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सक्यो ।
बिहीबार भारत ‘ए’ टोलीसँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएसँगै नेपाल र भारतले १/१ अंक बाडेका थिए । भारतले पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । हङकङ ३ खेलमा २ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ ।
एक खेल अगावै सेमिफाइनलमा पुगेका भारत र पाकिस्तान भने समान दुई खेलमा एक मा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । अव केहि समयमा भारत र पाकिस्तानबीच खेल हुँदैछ । जसबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अहिलेसम्म कै ठुलो प्रतियोगितामा ईतिहासको नजिक रहेको थियो ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारतका ‘ए’ टोली र पाकिस्तानका ‘ए’ टोली रहेका थिए । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।