काठमाडौं । हङकङमा जारी एसीसी महिला टि-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीले आज शनिबार हङकङसँग खेल्दैछ । हङकङको मोंगकोकमा रहेको टिंग रोड क्रिकेट मैदानमा नेपाल र हङकङबीचको खेल बिहान पौने ७ मा सुरु हुनेछ ।
नेपाल आज समूह चरणको अन्तिम खेलमा घरेलु टोली हङकङलाई पराजित गरि सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्छ । नेपालले सेमिफाइनल प्रवेशको सम्भावना पक्का गर्न आज नै हुने दोस्रो खेलमा भारत ‘ए’ टोलीले पाकिस्तानका ‘ए’ टोलीलाई फराकिलो अन्तरमा हराउनु पर्ने हुन्छ ।
नेपालले मंगलवार भएको पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग झिनो अन्तरको हार व्यहोरेको थियो । नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा नेपालले २० ओभरमा ७८ रन मात्र बनाउन सक्यो ।
बिहीबार भारत ‘ए’ टोलीसँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएसँगै नेपाल र भारतले १/१ अंक बाडेका थिए । भारतले पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अहिलेसम्म कै ठुलो प्रतियोगितामा ईतिहासको नजिक रहेका छन् ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारतका ‘ए’ टोली र पाकिस्तानका ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।
नेपाली महिला टोली :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे (विकेट किपर), कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी ।