काठमाडौं । हङकङमा जारी एसीसी महिला टि-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीले आज बिहीबार भारतसँग खेल्दैछ । हङकङको मोंगकोकमा रहेको टिंग मेसन रोड क्रिकेट मैदानमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र भारतको ‘ए’ टोलीबीचको खेल बिहान ११:१५ मा सुरु हुनेछ ।
आज नेपाल पहिलो जित र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् । नेपालले मंगलवार भएको पहिलो खेलमा पाकिस्तानको ‘ए’ टोलीसँग झिनो अन्तरको हार व्यहोरेको थियो । नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा नेपालले २० ओभरमा मात्र ७८ रन बनाउन सक्यो ।
पाकिस्तानविरुद्ध नेपालकी कविता कुँवरले लगातार योर्करका साथ दुई विकेट लिँदै सर्वाधिक २० रन जोडेकी थिइन् । इन्दु बर्माले तीन विकेट कविता जोशी र सीता रानामगरले समान २/२ विकेट लिएकी थिइन् । आज नेपाल पहिलो खेलमा जस्तै बलिङमा उत्कृष्ट प्रदर्शन चाहन्छ । नेपाली खेलाडीले फिटनेश कारण पहिलो खेलमा राम्रोसँग रन जोड्न सकेको थिएन । नेपालले आजको खेलमा सिंगल रन डबल रनमा ध्यान दिनुपर्ने हुन्छ ।
उता, भारतले पहिलो खेलमा घरेलु टोली हङकङलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । आजको खेलमा नेपाललाई पराजित गरि भारतको ‘ए’ टोली सेमिफाइनलको सम्भावना बलियो बनाउन चाहन्छ । भारतले यू १९ विश्वकप विजेता टोलीकी सदस्य स्वेता सेहरावतलाई कप्तानीको जिम्मेवारी दिएको छ ।
नेपालले समूह चरणको अन्तिम खेल १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ । थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको थियो । नेपाली महिला टोलीको यो अहिलेसम्म कै ठुलो प्रतियोगितामा पहिलो सहभागीता हो ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारतका ‘ए’ टोली र पाकिस्तानका ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।
नेपाली महिला टोली :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे (विकेट किपर), कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी ।