काठमाडौं । अर्को साता जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि जिम्बाबेमा रहेको नेपाली टोलीले युएईसँग आज मंगलवार पहिलो वार्मअप खेल खेल्दैछ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे जिम्बावेको ओल्ड हेनरिज क्रिकेट मैदानमा सुरु हुनेछ ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा भएको दुवै अभ्यास खेलमा हार व्यहोरेको थियो । पहिलो अभ्यास खेलमा बिहीबार नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो भने शनिबार भएको दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्सले ५ विकेटले हराएको थियो ।
युएई र नेपालबीच डिभिजन टूदेखि एसियाकप छनोटसम्म लगातर भेट भएको छ । पछिल्ला चार खेलदेखि युएईविरुद्ध नेपाल अपराजित रहेको छ । दक्षिण अफ्रिकामा नचलेको ब्याटिङ लाइन सुधार नेपालका लागि मुख्य चुनौती बन्ने छ । नेपालले दोस्रो वार्मअप खेल जेठ ३२ गते बिहीबार ओमानसँग खेल्ने छ ।
विश्वकप छनोट प्रतियोगिता असार ३ गते १८ जुन देखि असार २४ गते ९ जुलाई सम्म हुनेछ । नेपालले असार ३ गते १८ जुनमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले त्यसपछि असार ५ गते २० जुनमा अमेरिकासँग खेल्नेछ भने असार ७ गते २२ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।
युएईको टोली :
मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।