काठमाडौं । हङकङमा जारी एसीसी महिला इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीले आज मंगलवार पाकिस्तानसँग खेल्दैछ । हङकङको मोंग कोकमा रहेको टिंग क्रिकेट मैदानमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र पाकिस्तानको ‘ए’ टोलीबीचको खेल बिहान पौने ७ बजे सुरु हुनेछ ।
नेपाली महिला टोलीको यो अहिलेसम्म कै ठुलो प्रतियोगितामा पहिलो सहभागीता हो । प्रतियोगितामा पहिलो खेल खेल्दै गरेका दुवै टोली आज जितका साथ प्रतियोगिताको सुरुआत गर्ने सोचमा रहेका छन् । थाइल्याण्डले भिसाका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उसको स्थानमा नेपाली महिला टोलीले अवसर पाएको हो ।
पाकिस्तानले युवा तीव्र गतिकी बलर फतिमा सानाको कप्तानीमा टोली घोषणा गरेको छ । रुविना क्षेत्री कप्तानीमा रहेको नेपाली टोली यसअघि अघिल्लो साता मात्रै मलेसियाको सफल भ्रमण गरेर स्वदेश फर्किएको थियो । नेपालले मलेसियासँगको पाँच महिला टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज ३-२ ले जितेको थियो ।
नेपालले उक्त सिरिज एकवर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा खेलेको नेपाली महिला टोलीको स्तर र प्रदर्शनमा भने ठूलो प्रश्न उठेको थियो । नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । भारतले स्वेता सेहरावतको कप्तानीमा टोली घोषणा गरेको छ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारतका ‘ए’ टोली र पाकिस्तानका ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंकाका ‘ए’ टोली रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।
नेपाली महिला टोली :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे (विकेट किपर), कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी ।