काठमाडौं । अर्को महिना जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले नेदरल्यान्ड्ससँग आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
अभ्यास खेल ५० ओभरको हुने यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । टोलीमा भएका १६ जना मध्य ११ भित्र कुनैपनि खेलाडीलाई बलिङ र ब्याटिङ गराउन सक्छ । यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो ।
नेदरल्यान्ड्सविरुद्ध भने आज नेपाल जित निकाल्ने योजनामा खेल्दै त्यसपछि नेपाली टोली आइतबार जिम्बावे जानेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते १३ जुनमा युएईसँग र जेठ ३२ गते १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । विश्वकप छनोट प्रतियोगिता असार ३ गते १८ जुन देखि असार २४ गते ९ जुलाई सम्म हुनेछ ।
नेपालले असार ३ गते १८ जुनमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले त्यसपछि असार ५ गते २० जुनमा अमेरिकासँग खेल्नेछ भने असार ७ गते २२ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।
नेदरल्यान्ड्सको टोली :
स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), म्याक्स ओडाउड, लोगन भान विक, विक्रमजित सिंह, आर्यन दत्त, भिभियन किंग्मा, बास डि लिडे, नोह क्रोस, रयान क्लेन, तेजा निडामानुरु, वेस्ली व्यारेसी, शरिज अहमद, क्लेटन फ्लोयड, माइकल लिभित र सकिब जुलफिकर ।