काठमाडौं । अर्को महिना जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले स्कटल्यान्डसँग आज बिहिबार पहिलो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे प्रिटोरियामा सुरु हुनेछ ।
अभ्यास खेल ५० ओभरको हुने यो खेलले कुनैपनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । टोलीमा भएका १६ जना मध्य ११ भित्र कुनैपनि खेलाडीलाई बलिङ र ब्याटिङ गराउन सक्छ । नेपाली टोलीले दोस्रो अभ्यास खेल जेठ २७ गते शनिबार १० जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
त्यसपछि, नेपाली टोली जिम्बावे जानेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते १३ जुनमा युएईसँग र जेठ ३२ गते १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । विश्वकप छनोट प्रतियोगिता असार ३ गते १८ जुन देखि असार २४ गते ९ जुलाई सम्म हुनेछ ।
नेपालले असार ३ गते १८ जुनमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले त्यसपछि असार ५ गते २० जुनमा अमेरिकासँग खेल्नेछ भने असार ७ गते २२ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।
स्कटल्यान्डको टोली :
रिची बेंरिंगटन (कप्तान), म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट ।