काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने दक्षिण अफ्रीका प्रस्थान गरेका छन् । अर्को महिना जिम्बाबेमा हुने आइसीसी विश्वकप छनोट खेल्न सन्दीप सोमबार राति दक्षिण अफ्रीका प्रस्थान गरेका हुन् ।
बलात्कार आरोपको कारण अदालतमा पेशी हुँदा सन्दीप गत बुधबार नेपाली क्रिकेट टोलीसँग दक्षिण अफ्रिका गएका थिएनन् । तर, जिल्ला अदालत काठमाडौँले उनीविरुद्दको मुद्दाको पेशी असार २९ लाई सारेपछि विश्वकप छनोटको तयारी र विश्वकप छनोटसमेत खेल्न सन्दीप दक्षिण अफ्रीका पुगेर नेपाली टोलीसँग सामेल हुने छन् ।
उता नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भिसाको कारण दक्षिण अफ्रिका टोलीसँग गएका छैनन् । दक्षिण अफ्रीकामा नेपाली टोलीले दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ । नेपालले जेठ २५ गते ८ जुनमा स्कटल्यान्डसँग र जेठ २७ गते १० जुनमा नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ ।
त्यसपछि, नेपाली टोली जिम्बावे जानेछ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले जेठ ३० गते १३ जुनमा युएईसँग र जेठ ३२ गते १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । विश्वकप छनोट प्रतियोगिता असार ३ गते १८ जुन देखि असार २४ गते ९ जुलाई सम्म हुनेछ ।
नेपालले असार ३ गते १८ जुनमा जिम्बावेसँग खेल्दै विश्वकप छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले त्यसपछि असार ५ गते २० जुनमा अमेरिकासँग खेल्नेछ भने असार ७ गते २२ जुनमा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । समूहका शीर्ष ३ टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । छनोट खेलबाट दुई टिमले यसै वर्ष भारतमा हुने विश्वकप यात्रा तय गर्नेछन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।