काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पाँच खेलको महिला टि-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई हराउँदै उपाधि जितेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलमा आइतबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा नेपालले मलेसियामाथि तीन विकेटको जित निकाल्दै सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
मलेसियाले जितको लागि दिएको १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाईन् । नेपालले पहिलो ओभरमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।
कप्तान रुबिना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । ईन्दु बर्माले ९ बलमा ५ रन र अप्सरी बेगमले १३ बलमा २ चौकासहित अविजित १५ रन तथा ज्योति पाण्डेले १६ बलमा १ चौकासहित अविजित ११ रन बनाईन् । मलेसियाका लागि आइना हमिजाले दुई विकेट तथा माहिरा इज्जाति, विनिफ्रेड आनी दुराईसिंगम, अइसा इलिसा र नुर डानियाले समान एक/एक विकेट लिईन् ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाको लागि वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रन बनाएकी थिइन् ।
ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन तथा महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । नेपालका लागि कविता जोशीले दुई विकेट तथा ईश्वरी विष्टले एक विकेट लिईन् । सिरिजमा ८१ रन बनाउँनुका साथै ५ विकेट लिएकी कप्तान रुबिना क्षेत्री ‘प्लेयर अफ द सिरिज’ चुनिएकी छिन् ।
सिरिजको पहिलो खेलमा मलेसियाले नेपाललाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको शानदार जित हात पारेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको सहज जित निकालेको थियो भने चौथो खेलमा मलेसियाले ४ विकेटको रोमान्चक जित हात पारेको थियो ।