काठमाडौं । तीन सातापछि जिम्बाबेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि जिम्बावेले आफ्नो टोलीको घोषणा गरेको छ । नेपालसँगै समूह ए मा रहेको घरेलु टोली जिम्बावेले क्रेग इर्भिनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आगामी जुन १८ देखि जुलाई ९ सम्म आयोजना हुने प्रतियोगिताका लागि जिम्बावेले पाकिस्तानको ए टोलीसँग ६ खेलको अभ्यास खेलपछि टोलीको घोषणा गरेको हो । जिम्बावेले पाकिस्तान विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका २७ वर्षीय विकेटकिपर जोयलोड गम्बीलाई पहिलो पटक टोलीमा समेटेको छ । गम्बीले पाकिस्तान विरुद्ध १ सय ११ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
जिम्बावेबाट १ सय १० ओडिआई खेलेका कप्तान क्रेग इर्विनले पाकिस्तान विरुद्ध १ सय ९५ रन र १ सय ६१ रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यस्तै, अनुभवी खेलाडी सेन विलियम्सले १ सय ४९ ओडिआई खेलमा ४ हजार ३ सय ३८ रन बनाएका छन् ।
जिम्बावेबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका सिकन्दर राजा, चतरा टेन्डाई र ब्लेसिङ मुर्जाबानी टोलीका प्रमुख बलर हुन् । उच्च लयमा रहेका सिकन्दर राजा तथा रयान बर्ल टोलीका प्रमुख अलराउन्डर हुन् । जिम्बावेले असार ३ गते १८ जुनमा नेपालसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
विश्वकप छनोटको समुह ए मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिता असार ३ गतेदेखि २४ गतेसम्म हुनेछ ।
दश टोली सहभागी रहने यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
जिम्बावेको टोली :
रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।
नेपालको टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, किशोर महतो ।