एजेन्सी, २७ असार – रुसमा जारी विश्वकप फुटबलको बुधबार राति हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ । यो खेलले इङ्ल्यान्डलाई ५२ वर्षपछि फेरि विश्वकपको फाइनल खेल खेल्ने अवसर जुराइदिएको छ ।
यद्यपि, यसका लागि इङ्ल्यान्डले निकै सशक्त प्रतिद्वन्द्वी क्रोएसियालाई सेमिफाइनलबाटै घर फर्काउनु पर्ने हुन्छ । सन् १९६६ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेयता इङ्ल्यान्डले विश्वकपको फाइनल चरणको यात्रा तय गर्न सकेको छैन ।
क्रोएसियाका लागि पनि बुधबार हुने सेमिफाइनल खेल उत्तिकै महत्वपूर्ण छ । क्रोएसियाका लागि पनि यो खेल पहिलो पटक कुनै पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्ने महत्वपूर्ण अवसर हो ।
सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएपछि स्वतन्त्र राष्ट्रको रूपमा क्रोएसियाले अहिलेसम्म खेलेको युरोकप वा विश्वकप कुनै पनि ठूला प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन । त्यसैले इङ्ल्यान्डसँगै क्रोएसिया पनि यो खेलमा जितसँगै नयाँ इतिहास रच्ने दाउमा छ ।
यो उपलब्धि हात पार्न यी दुवै टोलीले एकअर्काको चुनौतीलाई असफल बनाउनु आवश्यक छ । इङ्ल्यान्डले सन् १९९० को विश्वकपमा समेत सेमिफाइनल खेलेको थियो । त्यसबेला तत्कालीन पश्चिम जर्मनीसँग टाइब्रेकरमा पराजित भएको इङ्ल्यान्डले त्यसयता खेलेको पाँचवटा विश्वकपमा क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन ।
विश्वकपको इतिहासमा क्रोएसियाको प्रदर्शन केही कमजोर देखिएको छ । स्वतन्त्र राष्ट्र भएपछिको पहिलो सहभागितामै सन् १९९८ मा क्रोएसियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यद्यपि त्यसपछिको तीनवटा विश्वकपमा क्रोएसियाले समूहगत चरण पनि पार गर्न सकेको थिएन । जारी विश्वकपमा भने क्रोएसियाले सशक्त प्रदर्शन गरेको छ र यही प्रदर्शनले उसलाई उपाधिकै बलियो दाबेदार टोलीको रूपमा समेत उभ्याएको छ ।
क्रोएसियाले समूहगत चरणका तीन र नकआउट चरणका दुई गरी जारी विश्वकपमा हालसम्मका पाँचवटै खेलमा आफूलाई लगातार विजयी बनाउँदै आएको छ । त्यसैले बुधबारको सेमिफाइनलमा क्रोएसियाले इङ्ल्यान्डलाई अहिलेसम्मकै कडा चुनौती दिने निश्चित छ । नकआउट चरणका दुवै खेलमा लगातार जित हात पारेको इङ्ल्यान्ड भने समूहगत चरणको अन्तिम खेलमा बेल्जियमसँग पराजित भएको थियो ।
नकआउट चरणको दुईमध्ये प्रिक्वार्टरफाइनल खेलमा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रुसजस्ता प्रतिद्वन्द्वीलाई टाइब्रेकरमा पन्छाएको क्रोएसियाली टोली इङ्ल्यान्डविरुद्धको खेलका लागि हरेक तरिकाले तयार देखिन्छ । अघिल्ला दुई खेलको टाइब्रेकरबाट क्रोएसियाले धेरै कुरा सिकेको छ । त्यसमध्ये टोलीले पाएको सबैभन्दा ठूलो उपलब्धि भनेको आफ्ना गोलरक्षक ड्यानियल सुबासिचको उत्कृष्ट प्रदर्शन हो ।
क्रोएसियालाई सेमिफाइनलसम्म पु¥याउन र खासगरी नकआउट चरणका अघिल्ला दुई खेलमा टाइब्रेकरमा जित दिलाउन गोलरक्षक सुबासिचले ठूलै भूमिका निर्वाह गरेका थिए । अघिल्लो खेलका क्रममा भने सुबासिच सामान्य घाइते भएका थिए । यी दुईटो लिबिचको हार वा जितको टुंगो भने इङ्ल्यान्डको दरिलो आक्रमण र क्रोएसियाको ससक्त मिडफिल्डबीचको प्रतिस्पर्धाले नै लगाउने निश्चित छ ।
इङ्ल्यान्डका कप्तानसमेत रहेका हेरी केन प्रतियोगितामा ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा छ । केन र उनी नेतृत्वको आक्रमणले प्रतियोगिताकै बलियो मिडफिल्ड रहेको क्रोएसियालाई पछि पार्न सकेमा मात्रै इङ्ल्यान्ड २८ वर्षपछि फेरि फाइनलमा पुग्नेछ । लुका मोड्रिच र इभान राकिटिचजस्ता क्रोएसियन मिडफिल्डर हावी भएमा भने क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने निश्चित छ ।
यी दुई टोलीले विश्वकपको अन्तिम चरणको प्रतियोगितामा अहिलेसम्म एकअर्कासँग प्रतिस्पर्धा गरेका छैनन् । यद्यपि, त्यसबाहेकका प्रतियोगितामा हालसम्म भएका सात खेलको नतिजाले भने इङ्ल्यान्डलाई बलियो देखाएको छ । सातमध्ये चार खेलमा इङ्ल्यान्ड विजयी भएको छ भने दुई खेलमा क्रोएसियाले जित हात पारेको छ । एक खेल भने बराबरीमा टुंगिएको छ ।