काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो रजत जयन्तीको अवसरमा आयोजना गरेको नेपाल दूरसञ्चार प्राधिकरण कप “अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिता” को उपाधि वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले हात पारेको छ ।
काठमाडौँको बालुवाटारस्थित फुटसल कोर्टमा शुक्रबार भएको फाइनल खेलमा वर्ल्डलिंकले एनसेल आजियाटा लिमिटेडलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । वर्ल्डलिंकले उपाधि सहित एक लाख नगद, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको एनसेलले ६० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो डिस मिडिया नेटवर्क बन्यो । डिस मिडियाले मर्केनटायल कम्युनिकेशनलाई २१–४ को फराकिलो गोल अन्तरले पराजित गर्दै ४० हजार नगद प्राप्त गरेको छ ।
माघ २९ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक सम्बद्ध संस्थाका दश टोलीको सहभागिता रहेको थियो । नकआउट फर्म्याटमा सञ्चालन भएको प्रतियोगितामा १० टिम सहभागी थिए ।
२०५४ फागुन २० गते स्थापना भएको नेपाल दूरसञ्चार प्राधिकरणले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा अन्तर सेवा प्रदायक स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा दूरसञ्चार सेवा प्रदायकहरू नेपाल टेलिकम, वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, एनसेल आजियाटा लिमिटेड, स्मार्ट टेलिकम प्रा.लि., भायानेट कम्युनिकेशन लिमिटेड, सुबिसु केवलनेट लिमिटेड, डिस मिडिया नेटवर्क, मर्कन्टायल कम्युनिकेसन लिमिटेड, सिजि कम्युनिकेसन लिमिटेड र ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रा.लि. ले भाग लिएका थिए ।