काठमाडौं । रोहिणी इन्टरनेशनल एजुकेसन सर्भिसेजले नेपालका चर्चित मिक्स मार्सल आर्टस (एमएमए) फाइटर रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । शनिबार ललितपुरको हिमालयन होटलमा गरिएको कार्यक्रममाझ रोहिणीले रविन्द्रलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
तर, आपसी समझदारीमा तीन वर्षसम्म सम्झौता अघि बढाउने विकल्प राख्दै रोहिणीले आगामी दिनमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । ब्रान्ड एम्बेसडरको सम्झौतापत्रमा रोहिणीका मार्केटिंग डाइरेक्टर दया थापा र रविन्द्रले हस्ताक्षर गरेका हुन् । ‘बझाङको बाघ’ उपनामले परिचित रविन्द्रले एमएमएका कुल १० खेलमध्ये नौ खेल जितेका थिए । उनले केही महिनाअघि मात्रै भारतको नोएडामा भएको एमएफएन १७ मा बान्टम वेटमा भारतकै नम्बर वान चुंग्रेन कोरेनलाई हराउँदै उपाधि जितेका थिए ।
सम्झौतापछि रोहिणीले आफ्नो यात्रामा साथ दिने प्रतिवद्धता व्यक्त गरेकोमा रविन्द्रले धन्यवाद व्यक्त गरे । उनले भने, ‘मैले जति फाइट खेल्न सिके त्यति बोल्न सिकेको छैन् । जुन दिन मैले प्रशिक्षकलाई भेटे, त्यसपछि मेरो लाइफ परिवर्तन भयो । हाम्रो आगामी यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा रोहिणीलाई धेरैधेरै धन्यवाद ।’
कार्यक्रममा रोहिणीका मार्केटिङ डाइरेक्टर दया थापाले पनि रविन्द्रसँग सहकार्य गर्न पाउनु हर्ष र गौरवको कुरा भएको बताए । उनले भने, ‘उहाँले गरेको फाइट देशको लागि हो । यो हाम्रो लागि गर्व र खुशीको कुरा हो । रविन्द्र जस्तो व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा निक्कै हर्षित छौँ । हामी बीचको यो सहकार्यलाई निरन्तरता दिनेमा पनि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
कार्यक्रमका नेपाल शैक्षिक परामर्स संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले रोहिणी र रविन्द्र दुबैलाई सम्झौताका निम्ति बधाई दिए । भट्टराईले भने, ‘एक असाधारण इतिहास बोकेको संस्था रोहिणीबाट नेपालकै चर्चित खेलकुद फिगर रविन्द्र ढाँट आज ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त हुनुभएको छ । यसमा दुवै पक्षलाई बधाई दिन चाहन्छु । भारतमा उहाँको जितले समग्र नेपाललाई गौरवान्वित बनाएको छ । म उहाँले अझ धेरै उपाधिहरु जित्नुहोस भन्न चाहन्छु । हामी एजुकेसन कन्सलटेन्सी सानो र मझौला संस्था हो । तर, यीनै संस्थाहरुले नेपालको नाम उच्च राख्ने खेलाडीहरुलाई ब्रान्ड एम्बेसडर राखेर उहाँको हौसलालाई अझ माथि लैजान भूमिका खेलिरहनुभएको छ । यही मार्गमा रोहिणी पनि आएको छ । रविन्द्रजीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्नुभएकोमा तपाईहरुलाई धन्यवाद र बधाई भन्न चाहन्छु ।’
कार्यक्रममा रोहिणीका कार्यकारी निर्देशक श्याम भण्डारीले रविन्द्रलाई नेपालको झन्डा ओढाउँदै सम्मान गरेका थिए । निर्देशक भण्डारीले रविन्द्र नेपालमा बन्दै गरेको हिरा भएको र आगामी दिनमा उनी अझ चम्किलो बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रविन्द्रसँगै उनका मेन्टर दिविज पिया लामाको पनि उपस्थिती थियो । आफूहरुले एमएमएफाइट सुरु गर्दा यसरी कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्ने नसोचेको भन्दै दिविजले भने, ‘हामीले यो यात्रा सुरु गर्दा हामी कुनैदिन देशकै रोल मोडल, कुनै संस्थाको ब्रान्ड एम्बेसडर बन्छौँ भन्नेसम्म सोचेकै थिएनौँ । मैले रविन्द्रलाई भेटेपछि सामान्य कुराहरुलाई मात्रै पछ्याउँदै फाइटमा अघि बढौँ भन्ने कुरा भएको थियो । त्यसबेला कुनैपनि नेपाली कसरी एमएमए फाइटर बन्न सक्छन् भन्ने कुनै सोच थिएन । अहिले नेपाली खेलकुदकै इतिहासमा रविन्द्रले इतिहास रचे । बझांगको सामान्य केटोलाई सहयोग गर्न अघि आउनु भएकोमा म रोहिणीलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मेरो उद्देश्य अबको १० वर्षमा अरु एक हजार रविन्द्र उत्पादन गर्नु पनि हो ।’