एजेन्सी, १५ असार - विश्वकप फुटबलको समुह चरणको अन्तिम खेलमा उपाधि दाबेदार मानिएको बेल्जियम विजयी भएको छ। बिहिबार राति सम्पन्न खेलमा इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको हो।
पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएको थियो भने, खेलको ५१ अाैं मिनेटमा बेल्जियमका एडनन् यनुजार्इले गोल गर्दै बेल्जियमलार्इ अग्रता दिलाउका थिए। उक्त गोल पश्चात दुबै तर्फबाट गोल हुन नसके पछि त्यही गोल निर्णायक बनेको हो।
समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा दुवै टोलीले पहिलो रोजाइमा व्यापक परिवर्तन गरेका थिए। समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ। समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए।
समूह ‘जी’कै अर्को प्रतिष्ठाका लागि मात्र खेलिएको खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो। पहिलो हाफमा आत्मघाती गोलबाट पछि परेको ट्युनेसियाले दोस्रो हाफमा खेल उल्टाएको हो। ३३ औं मिनेटमा यासि मेरिहको आत्मघाती गोलमा पानामाले खेलमा अग्रता लिएको थियो।
५१ औं मिनेटमा फक्रिदिने बेन युसुफलेले बराबरी गोल गरेका थिए। ६६ औं मिनेटमा वाहेबी खाजरीले गोल गर्दै ट्युनिसियालाई अग्रता दिलाएका थिए। पानामा र ट्युनेसिया यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो। ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो। समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन।