एजेन्सी, १४ असार - विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत एकमात्र एसियाली मुलुक जापान नकअाउट चरणमा पुगेको छ।
यसअघिका १ खेलमा जीत र १ मा बराबरी खेलेको जापान अाज भएको समूह चरणको अन्तिम खेलमा पोल्याण्डसँग पराजित भएपनि जापान अन्तिम १६ मा पुग्न सफल भएको हो।
पोल्यान्डसँग १–० ले खेल गुमाएपनि अर्को खेलमा कोलम्बियाले सेनेगललाई १–० ले हराएपछि जापानको प्रि क्वार्टरफाइनल यात्रा निश्चित भएको थियो।
कोलम्बिया ६ अंकसहित समूह एचको विजेता बन्दा समान ४ बटुलेको जापान समूह उपविजेता रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ।
जापान र सेनेगलले ३ खेलमा बराबरी ४ अंक, बराबरी ४ गोल गरेर तथा बराबरी ४ गोल खाएपछि फेयर प्लेका आधारमा जापान अगाडि बढेको हो। जापानले ३ खेलमा ४ वटा पहेलो कार्ड पाउँदा सेनेगलले भने ६ वटा पहेलो कार्डको दर्शन गर्नुपरेको थियो।
बराबरी गरे पुग्ने खेल गुमाएसँगै सेनेगल यसपटक विश्व कपको समूह चरणबाट बाहिरिने १६ औं टोली बनेको छ। प्रतिष्ठाका रुपमा रहेको खेलमा पोल्यान्डका लागि जान बेन्डनारेकले ५९ औं मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा ७४ औं मिनेटमा यरी मिनाले गरेको गोलमा कोलम्बियाको जित मात्र होइन प्रि-क्वार्टरफाइनलको यात्रा निश्चित भएको थियो । कर्नरमा आएको बलमा मिनाले हेडमार्फत गोल गरेका थिए। यसअघि पोल्यान्डलाई ३–० ले हराउँदा पनि मिनाले पहिलो गोल गरेका थिए।
पहिलो खेलमा जापानसँग २–१ स्तब्ध भएपछि दबाबमा रहेको कोलम्बिया अर्को खेलमा पोल्यान्डलाई हराउँदै प्रतिस्पर्धामा फर्केको थियो। पोल्यान्डलाई २–१ ले हराउँदै सुखद सुरुवात गरेको सेनेगल जापानसँगको दोस्रो खेलमा २–२ को बराबरीमा रोकिएको थियो।
समूह चरणको खेल सकिदा कोलम्बियाको ६, जापान र सेनेगलको समान ४ र पोल्यान्डको ३ अंक रह्यो।