एजेन्सी, १४ असार - विश्वकप फुटबलको समूह जी बाट इंग्ल्याण्ड र बेल्जियमले यस अघिनै अन्तिम १६ मा स्थान बनाइसकेका छन्।
सोही समूहबाट पानामा र ट्युनिसिया १ खेल अघिनै बाहिरिइसकेका छन्। समूहमा आफ्नो २ खेल जितेका इंग्ल्याण्ड र बेल्जियम समूह विजेताका लागि आज किलिनिङगार्ड रंगशालामा आमने सामने हुँदैछन्।
ग्यारेथ साउथगेटको टोली इंग्ल्याण्ड आफ्नो टोलीको फर्मका साथै मनोबल उच्च राख्न बेल्जियमविरुद्धको आजको खेल जसरी पनि जित्ने मनसायका साथमा मैदानमा उत्रिने छ। पानामा र ट्युनिसियालाई हराउँदै दुवै टोलीले ६ अंक जोडेका छन्। दुवैले समूहका २ खेलमा ८ गोल गरेका छन् र समान २ गोल खाएका छन्।
जसकारण राति ११ः४५ बजे हुने खेलको नतिजा बराबरी आएको खण्डमा समूह विजेताको निर्धारण फेयर प्ले रेकर्डले गरिनेछ। जहाँ बेल्जियमको भन्दा इंग्ल्याण्डले एउटा पहेलो बढी खाएको छ। यदि बेल्जियमले यही प्रदर्शनलाई निरन्तरता दिएको अवस्थामा बराबरीको नतिजाले पनि बेल्जियम समूह विजेता बन्नेछ।
त्यस्तै, अाजै हुने समूह एच अन्तर्गतका खेलमा सेनेगल र कोलम्बिया तथा जापान र पोल्याण्ड भिड्दै छन्। नेपाली समय अनुसार राति ७ः४५ बजे हुने खेलमा सेनेगल, कोलम्बिया र जापान गर या मर को स्थितिमा मैदानमा उत्रिँदै छन् भने, पोल्याण्डले अाशा गुमाइसकेको छ।
समूह तालिकामा ४ अंकका साथ जापान शीर्ष स्थानमा रहेको छ भने दोश्रो सेनेगलको पनि ४ अंक नै रहेको छ। तेश्रो स्थानको कोलम्बियाले ३ अंक जोड्दा अन्तिममा रहेको पोल्याण्ड अंक विहीन रहेको छ। अाजको खेलमा पोल्याण्ड बाहेक जीत हात पार्ने टोलीको नकअाउट चरण प्रवेश लगभग निश्चित देखिएको छ।