एजेन्सी, १४ असार – विश्वकप फुटबलमा ५ पटकको विश्वकप विजेता ब्राजिल समूह विजेताका रुपमा विश्व कपको नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘इ’का दुई अन्तिम अलग-अलग खेलमा ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्वीट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका हुन्। स्वीट्जरल्यान्ड उपविजेताका रुपमा अघि बढेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि ब्राजिलले मेक्सिको र स्विट्जरल्यान्डले स्वीडेनको सामना गर्नेछ। समूह ‘एफ’बाट स्विडेन विजेता र मेक्सिको उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए।
समूह ‘इ’मा ब्राजिलले ७, स्विट्जरल्यान्डले ५, सर्बियाले ३ र कोस्टा रिकाले १ अंक जोडेका छन्। ब्राजिलको जितमा पाउलिन्हो र थिएगो सिल्भाले गोल गरे। पाउलिन्होले ३६ औं मिनेटमा ब्राजिलका लागि गोलको खाता खोलेका थिए। काउटिन्होको पासमा बल अघि बढाएका पाउलिन्होले गोल गरेका थिए।
उनलाई रोक्न विपक्षी गोलकिपर अघि बढ्दा त्यसैमा पाउलिन्होले मौकाको फाइदा उठाएका थिए। सिल्भाले ६८ औं मिनेटमा गोल गर्दै टोलीको जितलाई निश्चित पारे। नेयमारको कर्नरमा आएको बलमा सिल्भाले हेडमार्फत गोल गरेका थिए।
अर्को खेलमा स्विट्जरल्यान्डले दुई पटकको अग्तालाई जोगाउन सकेन। ब्लिरिम डिजेमेलीको गोलमा ३१ औं मिनेटमा अग्रता लिएको स्वीट्जरल्यान्डविरुद्ध कोस्टा रिकाका केन्डेल वेट्सनले बराबरी गोल गरेका हुन्। खेलको अन्त्यतिर दुवै टोलीले गोल थपे। ८८ औं मिनेटमा जोसिप ड्रिमिकले गोल गर्दै पुन स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए।
इन्जुरी समयको तेस्रो मिनेटमा यान सोमेरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो। त्यसअघि कोस्टा रिकाका ब्रायन रियुज पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए। पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले अर्को खेलमा कोस्टा रिकालाई २–० ले हराएको थियो। अन्य खेलमा स्विट्जरल्यान्डले सर्बियालाई २–१ ले र सर्बियाले कोस्टा रिकालाई १–० ले हराएको थियो।