एजेन्सी, १३ असार - विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा पराजित भएपछि साबिक विजेता जर्मनी प्रतियोगिताबाटै बाहिरिएको छ।
छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साबिक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। पहिलो हाफको खेल गोल रहित बराबरीमा टुंगिएको खेलको इन्जुरी समयमा २ गोल गर्दै कोरियलाे नतिजा अाफ्नो पक्षमा पारेको हो।
निर्धारित समयको खेल पश्चात थपिएको ९ मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गर्दै कोरियालार्इ एेतिहासिक जीत दिलाएका हुन्।
किमको गोल शुरुमा अफसाइड लिइएपनि भिएआरको प्रयोगपछि मान्यता पाएको हो। दबाबमा परेको जर्मनीले गोल फर्काउन आक्रामक रणनीति अपनाउँदा काउन्टर एट्याकमा दोश्रो गोल खाएको हो। यससँगै २००२ पछिका विश्वकप साबिक विजेताहरु कोही पनि नकअाउट चरणमा पुग्न सकेका छैनन्।
समूह ‘एफ’को अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ। स्वीडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ।
३ खेलपछि स्विडेन र मेक्सिको समान ६ अंक छ । गोलअन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो। प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ। जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ।
दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै स्वीडेनले मेक्सिको माथि जीत दर्ता गरेको थियो।
लोडविग अगस्टिन्सनले ५० औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए भने आन्द्रेस ग्रान्कभिस्टले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। एडसन अल्भारेजको आत्मघाती गोलमा स्विडेनको गोलअन्तर फराकिलो बनेको थियो।