एजेन्सी, १३ असार – विश्वकप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा नाटकीय जीत हासिल गर्दै झिनो अाशा बोकेर मैदानमा उत्रेको अर्जेन्टिना नकअाउट चरणमा प्रवेश गरेको छ।
कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्व कप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको थियो। मेसीले १४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको खेल १–० गोल अन्तरमा टुंगिएको खेलको दोश्रो हाफमा नाइजेरिया पुन खेलमा फर्केको थियो। खेलको ५१ अाैं मिनेटमा पाएको पेनाल्टिको सदुपयोग गर्दै नाइजेरियका भिक्टोर मोजेजले खेल बराबरीमा ल्याएका थिए।
तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा अर्जेन्टाइन डिफेन्डर मार्कोस रोहोले विजयी गोल गर्दै अर्जेन्टिनाका लागि अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।
यो जीतसँगै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा समुह सीको विजेता फ्रान्सँगको भेट निश्चित गरेको छ। प्रि क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब रहेको थियो।
सोही समयमा भएको अर्को खेलमा अाइसल्याण्डविरुद्ध क्रोएशिया २–१ गोल्अन्तरले विजयी भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको ५३ अाैं मिनेटमा क्रोएसियाका मिलान बडेजीले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, खेलको ७६ अाैं मिनेटमा अाइसल्याण्डका सिगर्ड्सनले पेनाल्टि मार्फत गोल गर्दै टोलीलार्इ खेलमा फर्काएका थिए। निर्धारित समयको अन्तिम मिनेटमा इभान पेरिसिकले क्रोएसियाका लागि गोल गर्दै जीत सुनिस्चित गरेका हुन्।