एजेन्सी, – खेल जगतको सर्वश्रेष्ठ विधा हो, फुटबल। त्यसमा पनि विश्वकप फुटबलको पनि महामेलाका रुपमा सुपरिचित छ। विश्वकप फुटबलको २०अाैं संस्करणको पूर्व सन्ध्यामा विश्वकप कस्ले जित्ने हो? कुन देश यसपालिको प्रबल दाबेदार हो? जस्ता कुराहरुको चर्चा समग्र विश्वमै चलिरहेको छ।
तर, विश्वकपको एक फरक विशेषता बारे अनविज्ञ छन् धेरै जसो फुटबल समर्थक। हाल सम्मका सबै विश्वकपका संस्करणहरुले एक फरक खेलाडीलार्इ फुटबल जगतमा चिनाउने गरेको छ। जसको ज्वलन्त उदाहरण २०१४को विश्वकपबाट चिनिएका कोलम्बियाका खेलाडी जेम्स रोद्रिगेज हुन्। जुन १४बाट रूसमा हुने विश्वकप प्रतियोगितामा पनि त्यस्तै सम्भाना बोकेका केही खेलाडीहरुको सूची तयार पारिएको छ।
१. विलफ्रेड एनडिडी
२१ वर्ष, नाइजेरिया, लेस्टर सिटी
एनडिडीले नाइजेरियाबाट १२ नेशनल क्याप जितेका छन्। उनी विश्वकप २०१८मा नाइजेरियाको मिडफिल्डमा सर्वाधिक अाशा गरिएका खेलाडी पनि हुन्।
२. योरी टाइलेमान्स
२१ वर्ष बेल्जियम, मोनाको
योरी टाइलेमान्सले २०१६मा बेल्जियमको सिनियर टोलीमा डेब्यु गरेका थिए। योरी टाइलेमान्सले बेल्जियमका लागि ७ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी मिडिफिल्डरको भूमिकामा मोनाकोबाट व्यवसायिक फुटबल खेल्छन्।
३. कास्पर डोल्बर्ग
२० वर्ष, डेनमार्क, अायाक्स
२० वर्षिय कास्पर डोल्बर्ग डेनिस इन्टरनेशनल फरवार्ड हुन्। नेदरल्याण्डको अायाक्सबाट व्यवसायिक फुटबल खेल्ने डोल्बर्गले क्लबका लागि ५२ खेलमा २२ गोल गरिसकेका छन्। राष्ट्रका लागि ४ खेल खेलेका डोल्बर्गले १ गोल गरेका छन्। उनलार्इ विश्वकपको गोल्डेन बुटको दाबेदारमा समेत लिइएको छ।
४. मार्को एसेन्सियो
२२ वर्ष, स्पेन, रियल म्याड्रिड
रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने एसेन्सियो अाक्रामक फुटबलको पर्यायवाची भन्दा फरक नपर्ने जस्तै नाम हो। विपक्षीको हाफमा अाक्रामक फुटबल खेल्न रुचाउने एसेन्सियोले अाफ्नो क्षमता रियलबाट देखाइसकेका छन्। उक्त प्रदर्शनको प्रभाव स्वरुप उनी स्टार खेलाडीले भरिएको टोली स्पेनको विश्वपक टोलीमा पर्न सफल भएका छन्। स्पेनबाट ११ खेलमा मैदान प्रवेशको माैका पाएपनि पर्याप्त समयको अभावमा गोल गर्न नसकेको उनले बताउँदै अाएका छन्।
५. गाब्रियल जेजस
२१ वर्ष, ब्राजिल, म्यानचेस्टर सिटी
गत सिजन म्यानचेस्टरको टाइटल विनिङ क्याम्प्यानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जेजस एक यूवा स्टारको रुपमा अाफ्नो छवी बनाइसकेका खेलाडी हुन्। निम्नवर्गबाट माथि उठेका जेजसले सन् २०१४ मा ब्राजिलले अायोजना गरेको विश्वकपमा सडकमा रङ लगाउने काम पाएका थिए। २०१५ मा ब्राजिलियन क्लब पाल्मेरिसमा अाबद्ध भएका जेजस २०१७ मा इंग्लिस क्ल्ब म्यानचेस्टर सिटी गएका थिए। सिटीकालागि ३९ खेलमा २० गोल गरेका जेजसले राष्ट्रका लागि १६ खेलमा ९ गोल गरिसकेका छन्।
६. अोसुमाने डेम्बेले
२१ वर्ष, फ्रान्स, बार्सिलोना
२०१७मा १३५ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोना गएका डेम्बेले अहिले सुपरिचित फुटबलरको नाम हो। अाक्रामक शैली र अचुक ड्रिबलिङका लागि चिनिएका डेम्बेलेले फ्रान्सकालागि ११ खेलमा २ गोल गरिसकेका छन्। चोटका कारण धेरै समय मैदान बाहिर बिताएका डेम्बेलेले बार्सिलोनाका लागि १७ खेलमा ३ गोल गरेका छन्।
७. किलियान एमबाप्पे
१९ वर्ष,फ्रान्स, पिएसजी
फ्रेन्च ह्याभिवेट पिएसजीबाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे विश्वकप २०१८का लागि फ्रान्सेली राष्ट्रिय टोलीका प्रमुख हतियार हुन्। २०१७ मा मोनाकोबाट पिएसजी पुगेका एमबाप्पेले क्लबका लागि २७ खेलमा १३ गोल गरेका छन्। देशका लागि १४ खेलमा मैदानमा उत्रिएका एमबाप्पेले ३ गोल गरेका छन्। यसवर्षको विश्वकपमा फ्रान्सको अग्रपंती उनले नै सम्हाल्ने सम्भावना रहेको छ।