एजेन्सी, ११ असार - रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आइतबार समुह चरणको दोस्रो राउण्डका खेलको समाप्तिसँगै आजबाट समूह चरणकै अन्तिम तथा तेस्रो राउण्डका खेल शुरु हुँदैछन्।
तेस्रो राउण्ड अन्तर्गत अाज पाैने अाठ बजे उरूग्वे र अायाेजक राष्ट्र रूस खेल्दैछन् भने साेही समयमा साउदी अरेविया र इजिप्ट पनि खेल्दैछन्।
त्यस्तै ११ः४५ बजे समूह बीका खेल शुरू हुनेछन्। स्पेन र मोरक्को तथा इरान र पोर्चुगलबीच खेल हुँदैछ। तेस्रो राउण्डका खेल समाप्तिसँगै समूह चरण पार गर्ने र समूह चरणबाटै बाहिरिने टोलीको टुंगो लाग्नेछ।
जारी विश्वकपमा छनोट भएका ३२ टोलीमध्ये केही टोली बाहिरीसकेका छन् भने केही टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। जुन टोलीले तेस्रो राउण्डमा औपचारिकताका लागि मात्र खेल्दैछन्। सौमबार मैदानमा उत्रिने टोलीमध्ये समूह ए को खेलले विजेता र उपविजेताको मात्र टुंगो लगाउने छ। यो ग्रुपबाट आयोजक रसिया र उरुग्वेले एक खेल अगावै अन्तिम १६ को स्थान बनाइसकेका थिए ।
यही समूहमा रहेका इजिप्ट र साउदी अरेवियाले भने कुनै पनि खेल जित्न सकेका छैनन्। दुबै टोली अंकविहीन छन्। यी दुई टोलीबीचको खेलमा जित हात पार्ने टोलीले ३ अंक बटुले पनि दुबै टोली समुह चरणबाट बाहिरिएका छन्।
यस्तै सोमबार नै हुने दोस्रो समूहको खेल भने निकै रोमाञ्चक हुनेछ। जहाँ स्पेन र पोर्चुगलले आ–आफ्नो खेलमा जसरी पनि जित हासिल गर्नुपर्ने अवस्था छ। अन्यथा अंक तालिकाको दोस्रो स्थानमा रहेको पोर्चुगलले इरानसँग पराजय व्यहोरेमा पोर्चुगल बाहिरिने अवस्था छ। यो ग्रुपमा सुरक्षित जस्तो देखिएको टोली भने स्पने नै हो। उसले मोरक्को सँग बराबरी खेल्दा पनि समुह चरण पार गर्ने अवस्था देखिन्छ।
मोरक्को भने यो समूहबाट बाहिरि सकेको छ। मोरक्कोले जित हात पार्दा जम्मा ३ अंक मात्र हुनेछ। सोमबारको खेलले समुह विजेता र उपविजेताको टुंगो लगाउने छ। जसले अघिल्लो चरणको प्रतिद्वन्द्वी पनि तय गर्नेछ।