एजेन्सी, ८ असार – विश्व फुटबल जगतको स्वर्णीम नाम हो, लियोनल मेसी। तर, वर्तमानको विश्वकपको परिप्रेक्षमा सबैभन्दा अालोचित खेलाडी पनि बनेका छन्, जसको कारण हो उनी प्रति गरिएको अाशा।
अाशा गरे अनुसार मैदानमा प्रदर्शन गर्न नसकेका मेसी अाफ्नै समर्थकबाट अालोचित भइरहेका बेला, अाफ्नै प्रशिक्षकबाट थोरै सहानुभूती पाएका छन्।
सम्भवत! आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका लियोनेल मेसीले अन्य खेलाडीका कारण मेसीले विश्वकप २०१८ मा क्रोएशिया विरुद्धको खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताउँदै अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओलीले बचाउ गरेका छन्।
बिहिबार समपन्न समूह ‘डी’ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिना ३–०गोलअन्तरले पराजित हुँदा मेसी मैदानमा उदाउन सकेनन्। जारी विश्वकपमा अर्जेन्टिनाले विश्वकपको समूह चरणमा व्यहोरेको हार सन् १९५८ पछिकै सबैभन्दा ठूलो हार हो।
यद्यपी, अर्जेन्टाइन प्रशिक्षक साम्पाओलीले भने यसमा मेसीको कुनै दोष नरहेको बताउँदै टोलीका अन्य सदस्यले मेसीको सहयोग गर्ननसकेको धारणा सार्वजनिक गरेका छन्।
कोएशियाविरुद्ध पराजयपछि पोष्ट म्याच कन्फरेन्समा उनले भने, ‘अर्जेन्टिाइन टोलीको वास्तविकताले मेसीको उत्कृष्टतालाई ओझेलमा पार्छ। मेसी सिमित बन्छन् किनभने टोलीका अन्य सदस्यले उनलाई साथ दिँदैनन्।’ गोलकिपरको गल्ती र कप्तान मेसीको कमजोर प्रदर्शनबाट ध्यान हटाउन उनले पराजयको जिम्मा पनि आफैंले लिएका छन्।
पहिलो खेलमा आइसल्याण्डसँग अप्रत्यासित १–१ गोलको बराबरीमा रोकिएको अर्जे्न्टिनाले अब समूह चरणको अन्तिम खेलमा नाइजेरियाको सामना गर्नेछ।