काठमाडौं, फागुन ६ । टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा आज च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा ऋत गल्र्समा पहिलो भएका हुन् ।
माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित गर्यो । टाइम्सका सुनिल गोलेले निर्णायक गोल गरे । गल्र्सको उपाधि भिडन्तमा ऋतले जेभियर इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा ऋतका अस्मिता घिमिरे, प्रतिक्षा भण्डारी र नम्रता बुढाथोकीले गोल गरे । जेभियरबाट चेतना केसी र लाक्पा शेर्पाले गोल गरे ।
विजेतालाई केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ९ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए ।
काठमाडौं हिसानद्वारा आयोजित खेलकुद सप्ताहमा फुटसलसहित बास्केटबल, भलिबल, टग अफ वार र टेबलटेनिस गरी पाँच खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको ब्वाइजमा जेभियर र गल्र्समा साइपाल एकेडेमी पहिलो भएका थिए । भलिबलको ब्वाइजमा गीताञ्जली र गल्र्समा ग्रिनफिल्डले उपाधि जिते । टग अफ वारको ब्वाइजमा जया मल्टिपल कलेज र गल्र्समा ऋत एकेडेमीले शीर्ष स्थान हात पारेका थिए । सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भएको टेबलटेनिसको ब्वाइजमा आदर्श विद्या मन्दिर (एभीएम)का संयोग कपाली र गल्र्समा लिभरपुल इन्टरनेसनल कलेजकी मन्जु सुवालले स्वर्ण जितेका थिए ।
‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल बसुन्धरास्थित ऋत एकेडेमी, टग अफ वार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा टेबलटेनिस नयाँ बानेश्वरस्थित प्रिमियर इन्टरनेसनल कलेजमा भएको थियो ।