एजेन्सी, १ असार – रुसमा हिजोबाट शुरु भएको विश्वकप फुटबलको दोश्रो दिन अाज २ वर्ष अगाडीको युरोपियन च्याम्पियन र ४ वर्ष अगाडीको युरोपियन च्याम्पियन अर्थात् स्पेन र पोर्चुगल भिड्दैछन्।
अहिले सम्म ३५ पटक अामनेसामने भएका यी दुर्इ टोलीमध्ये पोर्चुगल ६ खेलमा विजयी भएको छ भने, स्पेनले १७ पटकको नतिजा अाफ्नो पक्षमा पारेको छ।
त्यस्तै, १२ खेल बराबरीमा टुंगिएका छन्। सन् १९२१ मा प्रथम पटक भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलविरुद्ध स्पेन ३–१ ले विजयी भएको थियो। त्यस्तै, सन् २०१२ युरोकपको सेमिफाइनलमा भएको भिडन्तमा पेनाल्टी शुटअाउटमा स्पेननै ४–२ गोल अन्तरले विजयी भएको थियो।
सन् २०१० मा भएको मैत्रीपूर्ण खेलमा ४–० गोल अन्तरको जीत हात पारेको पोर्चुगलले त्यसयता स्नेलार्इ हराउन सकेको छैन। यी दुबै टोली पछिल्लो समय बलिया साबित हुँदै अाएका टोलीहरु हुन्।
अधिकांश स्पेनिस खेलाडीहरु रामोस, एसेन्सियो, लुकास भास्केज, इस्को, नाचो, कार्भाहलगायतका खेलाडीहरु व्यवसायिक फुटबलमा पोर्चुगिस कप्तान तथा स्टार फरवार्ड रोनाल्डोसँगै रियल म्याड्रिडमा खेल्छन्।
स्पेनिस टिमका कप्तान रामोसले हाँस्यास्पद तरिकाले अाजको खेलमा रोनाल्डोले राम्रो नखेलुन् भन्ने धारणा भर्खरै सार्वजनिक गरेका छन्।
विपक्षीको क्षेत्रमा राज गर्न रुचाउने रोनाल्डोलार्इ रोक्ने जिम्मा पनि व्यवसायिक टिम पार्टनर रामोसको नेतृत्वको डिफेन्स टोलीले लिनेछ। जुन कुरा चुनाैतीपूर्ण रहेको महशुस गर्दै रामोसले उक्त धारणा प्रस्तुत गरेको टिप्पणी पनि भइरहेको छ।
पोर्चुगलसँग अनुभवी रोनाल्डोका साथमा सशक्त युवा खेलाडी अान्द्रे सिल्भा, बनार्डो सिल्भा जस्ता क्षमतावान् खेलाडीले भरिएको फ्रन्टलार्इन रहेको छभने, अर्को तर्फ स्पेनको फ्रन्टलार्इन पास मास्टर तथा भेट्रान् पासर अान्द्रे इनिएस्टाको नेतृत्वमा इस्को, डिएगो कोस्टा तथा डेभिड सिल्भा सम्मिलित अनुभव र जोसले भरिएको टिम सहित मैदानमा उत्रिने छ।
अाजको खेल सन् २०१२ युरोकप जत्तिकै प्रतिस्पर्धात्मक हुनेमा समस्त फुटबल समर्थकहरु विश्वस्त रहेका छन्। स्पेन र पोर्चुगलबीचको खेल नेपाली समय अनुसार पाैने १२ बजे अर्थात् ११ः ४५ मा रुसको सोची शहरमा अवस्थित फिस्ट स्टेडियमा हुनेछ।