एजेन्सी, २९ जेठ – जुन १४ अर्थात जेठ ३१ गतेबाट एक महिनासम्म रुसमा चल्ने २१औं संस्करणको फिफा विश्वकपमा ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
कुल ६४ खेल हुने प्रतियोगिताको फाइनल असार ३० गते लुजनिकी स्टेडियम मस्कोमा हुनेछ। यस पटकको विश्वकप कस्ले जित्ला भन्ने बारेमा चोक–चोकमा चर्चाको विषय बनेको छ भने, सामाजिक सञ्जालहरुमा पनि अनुमान गर्नुहोस् र जित्नुहोस् जस्ता योजनाहरु चल्न थालिसकेका छन्।
विजेताको अनुमानका साथै गोल्डेन बुट कसले जित्ला भन्नेबारे पनि चर्चा हुन थालेको छ। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट प्रदान गर्दै अाएको छ। यसैबीच यसपटकको गोल्डेनबुट जित्ने क्षमतावान् तथा सम्भावित खेलाडीहरुको सूची यस्तो रहेको छ।
को-को छन् गोल्डेन बुटका दाबेदार
लियोनल मेसी, अर्जेन्टिना
अर्जेन्टिनाका स्टार फरवार्ड मेसी यसपटक उत्कृष्ट फर्ममा रहेका छन्। गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा
मेसीलार्इ लिइएको छ। गत सिजनमा मेसीले ४७ गोल गरेका थिए। ला लिगामा मात्र उनले ३४ गोल गरेका थिए। पछिल्लो विश्वकपमा मेसीले ७ खेलमा ४ गोल गरेका थिए।
थोमस मुलर, जर्मनी
डिफेन्डिङ च्याम्पियन जर्मनीका स्टार थोमस मुलर पनि गोल्डेन बुटका दाबेदार हुन्। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा २० वर्षकै उमेरमा मुलरले यो अवार्ड जितेका थिए।
ह्यारी केन, इंग्ल्याण्ड
इग्ल्याण्डका ह्यारी केनलाई पनि यस पटक गोल्डेन बुटको दाबेदारका रूपमा लिइएको छ।पहिलो पटक विश्वकप खेल्न लागेका उनी उत्कृष्ट फर्ममा छन्। उनले यो सिजन ५० खेलबाट ४३ गोल गर्दै आफूलाई बलियो दाबेदार बनाएका छन्।
एन्टोइन ग्रीजम्यान, फ्रान्स
फ्रान्सका एन्टोइन ग्रीजम्यानलाई पनि यस पटक गोल्डेन बुटको दाबेदारको रूपमा लिइएको छ। एथ्लेटिको मड्रिडबा क्लब फुटबल खेल्ने यी स्टारले हरेक सिजन औषत २८ गोल गर्दै आएका छन्।
नेयमार, ब्राजिल
लामो समय खुट्टामा चोट बोकेर मैदान बाहिर रहेका ब्राजिलियन स्टार नेइमार खेलमा फर्किसकेका छन्। धेरैले उनलाई यसपटक उत्कृष्ट खेल्ने विश्वास लिँदै गोल्डेन बल जित्ने दाबी गर्दै आएका छन्।
२६ वर्षीयको नाममा ५३ अन्तर्राष्ट्रिय गोलको रेकर्डसमेत छ। यो उमेरमा यति धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा ब्राजिलकै पूर्व खेलाडी पेले, रोनाल्डो र रोमारियो थिए।
रोनाल्डो, पोर्चुगल
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ वर्षअघि युरोकप उपाधि दिलाउँदै टिमलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताएका थिए। क्लब फुटबलमा पनि फर्ममा रहेका रोनाल्डोलाई केहीले गोल्डेन बुटको दाबेदारको रूपमा हेरेका छन्।
इस्को, स्पेन
प्रथम पटक विश्वकप खेल्न लागेका स्पेनिस खेलाडी इस्को लिटिल म्याजिसियनको नामले परिचित छन्। रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने इस्कोले अर्जेन्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका इस्कोलार्इ पनि विश्वकप २०१८ को गोल्डेन बुटको प्रबल दाबेदारको रुपमा हेरिएको छ।