काठमाडौं, ११ असोज - दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–१८ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बुधबार भुटान पुगेको छ। समूह ‘बी’मा रहेको नेपालले यही शुक्रबार पाकिस्तानविरुद्धको खेलमार्फत प्रतियोगिताको सुरुआत गर्दै छ। नेपालको समूहमा पाकिस्तान र बंगलादेश छन्। नेपालले प्रतियोगिताको समूहगत चरणको आफ्नो दोस्रो खेल अक्टोबर २ मा बंगलादेशसँग खेल्ने छ।
प्रतियोगितामा नेपाल, पाकिस्तान र बंगलादेशसहित आयोजक भुटान, माल्दिभ्स र भारत पनि सहभागी छन्। भुटान, माल्दिभ्स र भारत भने समूह ‘ए’मा छन्।
समूहगत चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी अक्टोबर ७ मा हुनेछ। नेपाली टोली उपाधिको योजनासहित प्रतियोगिता खेल्न भुटान पुगेको एन्फाले जनाएको छ।
हरिओम श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीमा निशा थोकर, मनीषा राउत, सम्झना लावती, शुभद्रा कालीकोटे खड्का, अस्मिता वैद्य, रश्मिकुमारी घिसिङ, रबिता कुमारी राई, अञ्जना रानामगर, उषा नाता, सुवानी कुश्वा, कोपिला धिमाल, रोजिना श्रेष्ठ र मञ्जलीकुमारी योञ्जन खेलाडी छन्। यसैगरी अलिसा जिम्बा, सुषमा महर्जन, समीक्षा घिमिरे, पुनम फस्र्वान, सृजना सिंह, सम्झना शर्मा, रेखा पौडेल, पूजा राना, सरु लिम्बू र विमला विके पनि टोलीमा छन्।
टोलीको सहायक प्रशिक्षकमा श्री प्रकाश वैद्य तथा गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास छन् भने सरिला श्रेष्ठ मलेखु व्यवस्थापक रहेका छन्। टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार नै बिदाइ गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टीकी सांसद नीरू पाल, एन्फाका कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष पंकजविक्रम नेम्बाङ, महिला फुटबल समितिकी अध्यक्ष वृन्दा देवान लगायतले टोलीलाई बिदाइ गरेका थिए।