काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बिहीबार शीर्ष दुई टोली गोल्डेनगेट बास्केटबल क्लब र त्रिभुवन आर्मी क्लबले महत्वपूर्ण जित हात पारेका छन् । बिहीबार भएको पहिलो खेलमा गोल्डेनगेटले केभिसी हाउण्ड्सलाई तथा दोस्रो खेलमा आर्मीले टाईम्सलाई हराउँदै शीर्ष दुईमा पकड बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको खेलमा गोल्डेनगेटले केभिसी हाउण्ड्सलाई ९१-७८ ले पराजित गरेको हो । गोल्डेनगेटले पहिलो क्वाटर २६-२२ को अग्रता बनाउँदा दोस्रो क्वाटरमा दुवैले २०-२० अंक जोडेका थिए । तेस्रो क्वाटरमा पनि गोल्डेनगेटले २७-१९ को अग्रता लिँदै अग्रता बढाएको थियो । यस्तै चाैथो क्वाटर गोल्डेनगेटले १८-१७ ले आफ्नो पक्षमा पारेको थियो । गोल्डेनगेटको १२ खेलमा यो ११ औँ जित हो र २३ अंकसहित शीर्ष स्थानमा यथावत छ । हाउण्ड्सको यो चोथो हार हो । संयोगवस हाउण्ड्स पछिल्लो पटक गोल्डेनगेटसँगै ९१-८७ ले पराजित भएको थियो ।
गोल्डेनगेटले यस लिगमा हाउण्ड्समाथि डबल जित हात पारेको हो । यो हारपछि हाउण्ड्सको लगातार ८ खेलको विजयी यात्रा रोकिएको छ । सुरुवाती तीन खेलमा पराजित भएपछि हाउण्ड्सले लगातार ८ खेल जितेको थियो । १२ खेलबाट २० अंकसहित हाउण्ड्स चाैथो स्थानमा छ । गोल्ड्नगेटका निकेश मगर म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी दोस्रो खेलमा आर्मीले टाईम्सलाई ९७-८५ ले हरायो । आर्मीको पनि यो ११ औँ जित हो । यो जितपछि आर्मीले पहिलो चरणमा टाईम्ससँग बेहेको हारको बदला लिएको छ । आर्मीले १३ खेलबाट गोल्डेनगेट समान २३ अंक जोडेपनि अंकअन्तरमा आर्मी पछि रहँदै दोस्रोमा छ ।
दोस्रो हार बेहोरेको टाईम्स २२ अंकसहित तेस्रोमा छ। टाईम्स यसअघि पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको थियो । यस हारपछि टाईम्सको लगातार दश खेलको विजयी यात्रा रोकिएको छ । आर्मीले टाईम्स विरुद्ध पहिलो क्वाटर २९-२६ र।दोस्रो क्वाटर २४-२२ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ५३-४८ को अग्रता बनाएको थियो । त्यसपछि आर्मीले तेस्रो क्वाटर पनि २३-१० ले आफ्नो पत्रमा पार्यो । चाैथो क्वाटर टाईम्सले २७-२१ ले आफ्नो पक्षमा पारेपनि आर्मीलाई जितबाट रोक्न सकेन । आर्मीका निश्चल महर्जन म्यान अफ दि म्याच घोषित भए ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।