काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोएललाई ८८-७२ ले पराजित गरेको हो ।
प्लेबक्सले रोएल विरुद्ध १९-१०, २४-२०, २०-१७, २५-२५ को प्रदर्शन गर्यो । प्लेबक्सका आङ फुर्बा शेर्पा म्यान अफ दि म्याच घोषित भए । प्लेबक्सका पुस्कल छन्त्याल ३२ अंक जोडे ।
दोस्रो जित हात पारेको प्लेबक्स १२ खेलबाट १४ अंकसहित छैटाैँ स्थानमा छ । ११ औँ हार बेहोरेको रोएललको १३ अंक छ । यस्तै बुधबार राती सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबल क्लबलाई ८८-६७ ले हरायो ।
कीर्तिपुरका ईनाम महर्जन म्यान अफ दप म्याच घोषित भए । कीर्तिपुरको यो तेस्रो जित हो । १२ खेलबाट १५ अंक जोडेको कीर्तिपुर पाँचाै स्थानमा छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।