काठमाडौं । बन्दी सहायता नियोग (पाम) का बविनकुमार दियाली र सचिकला मगरले नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमुनि फाइनलमा बविनले एमएमएसीका साइमन तामाङलाई पराजित गरे ।
पुरुष २० केजीमुनि कोशी प्रदेशका नितेश सहनी, ३० केजीमुनि नागर्जुन भ्याली एकेडेमीका अश्विन तामाङ र ५६ केजीमुनि गेलेफु जुडो क्लब, भुटानका जिग्मे योजरले स्वर्ण जिते । फाइनलमा नितेशले पामका विष्णु गिरी, अश्विनले कर्णाली प्रदेशका कम्लेश पासी र जिग्मेले एमएमएसी जुडो क्लबका बुद्ध गुरुङलाई हराए ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भइरहेको प्रतियोगिताको महिला ५३ केजीमुनि पेल्खिल डोजो क्लब, भुटानकी दोर्जी तान्डिन वाङमो पहिलो भइन् । दोर्जीले फाइनलमा नुवाकोट डोजोकी कोपिला तामाङलाई पाखा लगाइन् ।
महिला ३२ केजीमुनि पेल्खिलकी छिमी सोगेलले पामकी कृष्णा महतारा तथा ३६ केजीमुनि पामकी सचिकला मगरले बाल विकास जुडो डोजोकी शिक्षा श्रेष्ठलाई पन्छ्याउदै स्वर्ण हात पारे ।
प्रतियोगिताको मुख्य प्रायोजक बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) का प्रमुख कार्यकारी अधिकृत विष्णु गिरीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

तीनदिने प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला, क्लब, स्कुल र डोजोका खेलाडी तथा भुटान र बंगलादेशका करिब ३ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विगतका सातै संस्करणमा नेपालको पाम टिम च्याम्पियन बनेको थियो । उत्कृष्ट २ पुरुष र २ महिला खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।