काठमाडौं । अभिक शाह र अनिश प्रसाइँको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ । भक्तपुरस्थित रिडर्स हव, कौशलटारमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा ईलाम हाइटलाई पराजित गर्दै सफलता हात पारेको हो ।
‘बगहाउस फर्म्याट’मा सञ्चालित प्रतियोगिता पाँच चरणमा लिगका शीर्ष चार टिमले उपाधि होडमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । लिगमा १९४८ रेटेड अभिक नेतृत्वको सान्टा जेभियरले शतप्रतिशत जितसहित शीर्षस्थान हासिल गर्यो । निहाना श्रेष्ठ र रिदम थापाको टिम मार्भलस चार जितसहित दोस्रो भयो ।
सुरेन्द्रकुमार राई र रवीन्द्र श्रेष्ठको टिम ईलाम हाइट तेस्रोमा रह्यो । बराबरी अंकपछि त्रियोग हाईस्कुललाई प्ले–अफमा हराएर प्याट्रियटिक पनले पनि शीर्ष चारमा स्थान बनायो । तर, प्रवीर केसी र पर्ल श्रेष्ठसम्मिलित प्याट्रियटिक पनलाई सेमिफाइनलमा रोक्दै सान्टा जेभियर फाइनल पुगेको थियो । अर्को सेमिफाइनलमा होटल ईलाम हाइटले टिम मार्भलसलाई पराजित गरेको थियो ।
हिमालयन चेस एकेडेमीद्वारा आयोजित एकदिने प्रतियोगितामा प्रत्येक टिममा फिडे रेटेड एक खेलाडीलाई मात्रै समावेश गरिएको थियो । परिवारका सदस्य, साथी, स्कुलका विद्यार्थी, छिमेकीलाई टिम निर्माणमा संलग्न गरिएको प्रतियोगिताको विजेता सान्टा जेभियरले सात हजार रुपिया, ट्रफी र मेडल हात पारे । उपविजेता होटल ईलाम हाइटले पाँच हजार र मेडल तथा तेस्रो भएको टिम मार्भलसले तीन हजार र मेडल प्राप्त गरे ।
विजेता खेलाडीहरूलाई बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र अन्टरप्रेनर अनुप आचार्यले पुरस्कार प्रदान गरेका थिए । हिमालयन चेस एकेडेमीको झक्तपुर शाखा रहेको योङ लर्नस् रिडर्स हवसँगै रहेको मा आयोजित प्रतियोगितामा १२ टिम सहभागि थिए । योसँगै २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमी आफैले ब्लिट्ज, र्यापिड, क्लासिकल चेस र पजल सोल्भिङ कन्टेस्ट गरी १३ प्रतियोगिता सफलतापूर्वक आयोजना गर्यो ।