काठमाडाैं, ३ भदाै, — बिजेश्वरी सेकेण्डरी स्कुलका छात्र सुजन खड्का र छात्रा मारिया थापा मगरले उमेर समूह लिग टेबल टेनिस प्रतियोगिता २०७५मा जित हात पारेका छन् ।
टेबल टेनिस प्रशिक्षण केन्द्र, राष्ट्रिय खेलकुद परिषदको आयोजनमा भएको उमेर समूह लिग प्रतियोगिताको छात्रको १६ बर्ष मुनिको प्रतियोगितामा सुजनले पुष्प सदनका आभाष चौलागाईलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । तेश्रो स्थानमा प्राईम कलेजका राजन तामाङ्ग र गुड स्टार्ट एकेडेमीका आदित्य ढुङ्गाना रहे ।
यस्तै सोहि समूहको छात्रा तर्फ मारियाले आफ्नै स्कुलकी अनुष्का सिम्खडालाई पाखा लगाउँदै स्वर्ण जितिन् । महालक्ष्मीकी स्नेहा अधिकारी र त्रियोगकी आयुष्मा गैरेले कास्य पाए ।
चार उमेर समूहमा भएको प्रतियोगिताको छात्र १४ बर्ष मूनिको प्रतिस्पर्धामा मनकामना स्कुलका एलेक रायमाझीले स्वर्ण पाए । प्रोक्सिमाका रमन थापा मगरले रजत तथा द ईलाईट कोएडका अन्जन शर्मा र श्री महाङकालका दिपेश श्रेष्ठले रजत पाए । छात्रा तर्फ भानुभक्त मेमोरियलकी श्रीश्मा तुलाधरले त्रियोगकी अशिमा गुरुङ्गलाई पराजित गर्दै जित हात पारिन् । अरुणी सेकेण्डरीकी अश्मिता कार्की र साब पब्लिककी मुस्कान पासवान तेश्रो स्थानमा रहे ।
लैनचौरस्थित कभर्डहलमा भएको प्रतियोगिताको १२ बर्ष मूनिको प्रतिस्पर्धामा छात्र तर्फ पुष्प सदनका शिद्धार्थ तामाङ्गलाई पाखा लगाउँदै ग्रिनफिल्डका हिमाल बिष्टले स्वर्ण कब्जा गरे । डिएभीका रवी कुमार दास र द न्यू समिटका आशुतोष आचार्यले कास्यमा चित्त बुझाए । छात्रा तर्फ बिजेश्वरीकी सुष्मिता खड्काले स्वर्ण हात पारिन् । उनले जनकनाथ मेमोरियलकी स्वर्णिमा कंसाकारलाई पराजित गरिन् । त्रियोगकी प्रतिक्षा थापा र जनकनाथकी ईना डङ्गोल संयुक्त तेश्रो भए ।
१० बर्ष मूनिको छात्र तर्फ ज्ञानभैरवका श्रेयान शाधाले स्वर्ण प्राप्त गर्दा एसभिआईका उज्वल मानन्धर रजतमा खुम्चिए । भानुभक्त मेमोरियलका सदीप देवकोटा र जनकनाथका सविन तामाङ्गले कास्य पाए । छात्रा तर्फ ईष्टपोलकी पुजा सोतीले स्वर्ण, नेशनल चिल्ड्रेनकी अनामिका कस्तीले रजत तथा एम्सका अंकिता खनाल र स्मृती जैसवालले कास्य पाए ।
बिजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष, काठामाण्डौ जिल्ला टेबल टेनिस संघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का प्रमुख टेबल टेनिस प्रशिक्षक धर्ममान बज्राचार्यले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा छात्र तर्फ ११९ र छात्रा तर्फ ४५ खेलाडीहरुले चार उमेर समूहका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएका छन् ।