काठमाडौं । नेपालमै पहिलोपल्ट चेसको पजल सोल्भिङ प्रतियोगिता आइतबार हुने भएको छ । हिमालयन चेस एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँग सहकार्य गर्दै देशकै पहिलो पजल सोल्भिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
एकेडेमीका निर्देशक याईशाष यासिर खम्बूले भने, ‘चेसमा पजल सोल्भ गर्दा खेलको विश्लेषणलाई सहज बनाउँछ । समग्रमा पजल सोल्भिङले चेस खेल्ने क्षमता अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले डब्लुएफसीसीसँग सहकार्य गर्दै इन्टरनेसनल सोल्भिङ कन्टेस्ट २०२६ को एउटा प्रतियोगिताको रुपमा नेपालमा पहिलोपल्ट पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो ।’
इन्टरनेसनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा सुरु भएको हो । गत वर्ष भएको २१ औं संस्करणमा २८ देशका ४६ सहरमा ७ सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैले २२ औं संस्करणमा नौ सय बढी खेलाडीको उपस्थिति हुने अपेक्षा गरिएको छ, जहाँ २७ देशका ६५ सहरमा एकसाथ २५ जनवरी (आइतबार) मा आयोजना गरिदैछ । यसमा नेपालका (काठमाडौं) तथा भारतका नौ सहर पनि छन् ।
पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीले काठमाडौं ११ थापाथलीस्थित आफ्नै चेस हलमा प्रतियोगिता सञ्चालन गर्दैछ । यहाँ उत्कृष्ट नतिजा ल्याउने खेलाडीले २०२६ अगस्टमा जर्मनीको मगडेबर्गमा २०२६ अगस्ट ८ देखि १५ सम्म सञ्चालन हुने ४९ औं वल्र्ड चेस सोल्भिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर पाउने छन् ।
एकेडेमीका निर्देशक खम्बूका अनुसार डब्लुएफसीसीको रेटेड इभेन्टको रुपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी १, कम अनुभवीले क्याटगोरी २ तथा १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी ३ मा प्रतिस्पर्धा गर्नेछन् । क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लुएफसीसीको रेटिङ पाउनेछन् । कन्टेस्टमा करिब ३० जना सहभागि हुने अपेक्षा गरिएको छ ।
खेलाडीले पजल सोल्भ गरेर पेपर गरेपछि त्यो पेपरलाई एकेडेमीले डब्लुएफसीसीमा पठाउनेछ । त्यहाँ पुनः पेपर जाँच गरेपछि अन्तिम नतिजा सार्वजनिक गर्ने पनि खम्बूे बताए । २०८० साल चैत १ गते औपचारिक उद्घाटनसँगै व्यवस्थित रुपमा सञ्चालित हिमालयन चेस एकेडेमीले आयोजना गर्न लागेको १२ औं प्रतियोगिता पनि हो– पजल सोल्भिङ कन्टेस्ट । उसले यसअघि ब्ल्ट्जि, र्यापिड र क्लासिकल चेसका ११ प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।