काठमाडौं । न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन् । खेलकुद महोत्सवको अन्तिम दिन न्यु एरा सिनियर ब्वाइज फुटसल र न्युटन ब्वाइज भलिबलमा च्याम्पियन बने ।
शेषमतिस्थित सेक्रेड हार्ट स्कुलमा भएको ब्वाइज फुटसल फाइनलमा न्यु एराले न्युटनलाई ३–१ गोलले पराजित गर्यो। न्यु एराका पेम्बा तामाङले २ तथा आयुश बरामले १ गोल गरे । न्युटनका युगेन लामाले सान्त्वना गोल फर्काए ।
सेक्रेड हार्ट र सेब तेश्रो भए । १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसअघि १२ टिम सहभागी गल्र्स फुटबलको उपाधि हिमरश्मिले जितेको थियो ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित खेलकुद महोत्वसअन्तर्गत ब्वाइज भलिबलको ‘बेस्ट अफ फाइभ’ फाइनलमा न्युटनले हिमरश्मिलाई २५–१७, २३–२५, १९–२५, २५–१२ र १५–६ को सेटमा ले हरायो । सेक्रेड हार्टले सेबलाई २५–१३ र २५–२३ ले पाखा लगाउदै तेश्रो भयो । भलिबल ८ टिम सहभागी थिए ।
खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको पनि प्रतिस्पर्धा भएको थियो । एथलेटिक्समा कौशल तथा व्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए ।
विजेतालाई प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की र सदस्य विष्णुचन्द्र अधिकारी, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, सचिव शिवप्रसाद अर्याल र सह–सचिव रविन बस्नेत, न्युटनका प्रिन्सिपल राम केसी, सेक्रेड हार्टका प्रिन्सिपल बद्रीनाथ भट्ट, ओप्सका इसीए विभाग प्रमुख राजेश रायमाझी, तार्केश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष फिरोज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।