काठमाडौं । आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशलले शुक्रबार टिम च्याम्पियन बनेका छन् ।
ढुंगेधारामा भएको ब्याडमिन्टनमा हिमरश्मिले स्वर्णमा ‘क्लिन स्विप’ गर्यो । ३ स्पर्धामा खेल भएको थियो । ३ रजतसहित ज्ञान मन्दिर दोश्रो भयो भने कौशल तेश्रो बन्यो ।
ब्वाइज सिंगल्स फाइनलमा रोनिश खड्काले पवन दाहाललाई २–० को सोझो सेटमा पराजित गरे । गल्र्स सिंगल्सको उपाधि भिडन्तमा उपासना बोहराले तनुश्री ओलीलाई सीधा सेटमा २–० ले हराइन् । मिक्स डबल्समा सम्प्रेशन सापकोटा र प्रतीक्षा गौतमको जोडीले सुशान्त थापा मगर र सिवानी सुनारको जोडीलाई २–० ले पाखा लगाए ।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा भइरहेको खेलकुद महोत्सवअन्तर्गत १८ स्पर्धा समावेश एथलेटिक्समा कौशल च्याम्पियन बन्यो । कौशलले सर्वाधिक ५ स्वर्ण जित्यो । ३ स्वर्ण र २ रजतसाथ न्युटन दोश्रो भयो । तेश्रो स्थानको ज्ञान मन्दिरले ३ स्वर्ण हात पार्यो ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा एथलेटिक्सको अन्तिम दिन ८ स्पर्धाको फाइनल भयो । २ सय मिटर दौडको ब्वाइजमा कौशलका करणराम भुल र गल्र्समा न्युटनकी अनिता बुढाले स्वर्ण जिते । करणले २६.७५ सेकेन्ड र अनिता बुढाले ३२.६२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।
त्रिपलजम्पको ब्वाइजमा सिर्जनाका गजेन्द्र अधिकारी (११.० मिटर), ज्याभ्लिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका आयुशविक्रम शाह (२९.९८ मिटर) र गल्र्समा न्युटनकी अनिता बुढा (२१.७३ मिटर) तथा ४ गुणा १ सय मिटर रिलेको ब्वाइजमा एन्जल्स हार्ट र गल्र्समा कौशलले शीर्ष स्थान हात पारे ।
खेलकुद महोत्सवअन्तर्गत शनिबारदेखि ब्वाइज÷गल्र्स फुटसल र ब्वाइज भलिबलको प्रतिस्पर्धा हुने आयोजक ओप्सले जनाएको छ ।