काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा एनएसएसएफ १३ औं किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोश्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ । दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी सहभागी थिए ।
सहभागीहरुको मार्चपास्टपछि पूर्व सांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए । कमलसंगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणमा पनि यि चारै खेलाडीले टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रशारण गरिएको थियो भने पहिलो चरणको कार्यक्रमको संक्षिप्त श्रब्यदृष्य पनि प्रस्तुत गरिएको थियो ।
विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालवालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो । एनएसएसएफका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागिता गराइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले आगामी संस्करण अझ भब्य रुपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
.JPG)
पुस १२ गते भएको पहिलो चरणको कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य रञ्जना प्रधानले कार्यक्रम सफलताका लागि शुभकामना दिइन् ।
सानै उमेरदेखि बालवालिकालाई खेलकुद प्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसीइटीएले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।