काठमाडौं । काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप आगामी जेठ २९ र ३० गते हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ कूल ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनिकाजी महर्जनले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
जसअन्तर्गत छ तौलसमूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुल्ला प्रतिस्पर्धा गराइनेछ । महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो ।
पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथि तौलसमुहमा प्रतिस्पर्धा गराइनेछ भने स्पोर्ट फिजिक्स अन्तर्गत १७० सेमी भन्दा माथि र १७० सेमीसम्मको दुई विधामा प्रतिस्पर्धा गराइनेछ । प्रत्येक तौलसमूहका विजेताहरु दोस्रो मिस्टर महानगरको दावेदारिताका लागि ओभरअल प्रतिस्पर्धामा खेल्नका लागि छनोट हुने छन् ।
ओभरअल प्रतिस्पर्धाका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद पाँच लाख, ट्रफी र व्यानेटले सुसज्जित गरिनेछ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा हुने प्रतियोगिताको पहिलो दिन तौल नाप्ने कार्य हुनेछ भने दोस्रो दिन प्रि जजिङ र फाइनल खेल हुनेछ ।
प्रत्येक तौलसमूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार दिइनेछ । त्यस्तै स्पोर्ट फिजिक्स तर्फ पनि पुरुष र महिला दुवै विधामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख २५ हजार, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।
पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीले खेलाडीले समयमै राम्रो तयारी गर्न सकुन् भन्ने उद्देश्यले चाँडै पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको बताए ।