काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् ।
राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोश्रो भए । तेश्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने ।
साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन् । पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए ।
आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे । दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।
.JPG)
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो, रेवतबहादुर दाहाल तेश्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने । भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिलामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोश्रो र तेजबहादुर गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन् । कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो ।
विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो । दौडमा १ हजार ४ सयको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन् ।