काठमाडौं । नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म हङकङमा हुने ट्रान्सलानटाउ रेसमा भाग लिन सुमन सोमबारै राती हङकङ प्रस्थान गर्देछन् । उनले ८० किलोमिटर दूरीको रेसमा प्रतिस्पर्धा गर्नेछन् ।
केही समयअघि स्पेनमा भएको वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा भाग लिएका सुमनले एसियाली धावकहरुमध्ये राम्रो प्रदर्शन गरेका थिए ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले सुमन कुलुङले अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेको र हङकङमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
सुमनले पहिलो पटक वर्ल्ड ट्रेल रनिङ एन्ड माउन्टेन च्याम्पियन खेल्दा राम्रो अनुभव भएको र धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले हङकङमा हुने रेसमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
अल्ट्रा रनर सुमनलाई अष्ट्रियाको सिग्रिड फाउन्डेसनले स्पोनसरसिप गरेको छ । सुमन पर्यटक गाइडको रुपमा काम गर्दा सन् २०२२ मा फाउन्डेसनका पदाधिकारीसंग भेट भएको र त्यसपछि सम्पर्कमा पुगेका थिए ।
त्यसपछि राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका शीर्ष धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाउन्डेसनले जनाएको छ ।
सुमन हाल अष्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै आएका छन् । उनी त्यहाँ स्की लगायत खेलहरु पनि अभ्यास गर्ने गर्नछन् ।
सुमनले वर्ल्ड च्याम्पियनसिप लगायत विश्वका विभिन्न देशमा हुने अल्ट्रा रेसहरुमा भाग लिईसकेका छन् । सुमनसंगै फाउन्डेसनकी संस्थापक डा.सिग्रिड स्वार्जेनबाकर र पेट्रा नोकर पनि हङकङ जाने छन् ।